१२ श्रावण २०८३, मंगलवार
Follow Us

काँग्रेसले युवालाई लक्षित गर्दै विपद् व्यवस्थापन तालिम सञ्चालन गर्ने

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८३, मंगलवार ११:०२

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रतिष्ठानको हालै बसेको छैटौँ बैठकले विपद् व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति विकास गर्ने उद्देश्यसहित तीन दिने प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी साउन १५ देखि १७ गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ। पहिलो चरणमा इच्छुक युवामध्ये छनोट गरिएका ४० जनालाई सहभागी गराइने उनले जानकारी दिए।

प्रशिक्षणमा प्राकृतिक विपद्सम्बन्धी सैद्धान्तिक जानकारीसँगै व्यावहारिक तथा प्राविधिक सीपसमेत प्रदान गरिने जनाइएको छ। स्वदेश तथा विदेशमा विपद् व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका विषय विज्ञहरूले सहभागीलाई प्रशिक्षण दिनेछन्।

काँग्रेसले तालिममार्फत विपद्का समयमा आवश्यक सचेतना, तयारी र प्रतिकार्यमा भूमिका निर्वाह गर्न सक्ने दक्ष युवा स्वयंसेवक तयार हुने अपेक्षा गरेको छ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले आगामी दिनमा प्रत्येक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक परिचालन गर्ने अवधारणाअनुसार कार्यक्रम विस्तार गर्ने योजना बनाएको जनाएको छ।

धेरै पढिएको