काठमाडौँ । सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । बुधवार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैर जिम्मेवार देखिएको आरोप लगाएका हुन् ।
नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाए । नेता आङदेम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच हुनुपर्ने आवश्यक संवाद र समन्वयको अभावले पनि राज्य सञ्चालनमा गम्भीर त्रुटि देखिएको टिप्पणी गरे । उनले राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको दाबी गरे ।
उनले भने, ‘यस्तो गम्भीर र संवेदनशील विषयमा डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले सरकार कति गैर जिम्मेवार छ भन्ने प्रस्ट हुन्छ । सरकार केवल सामाजिक सञ्जालको ‘स्ट्याटस’ मा मात्र सीमित देखियो, तर कार्य थलोमा उसको उपस्थिति शून्य छ । हामीले अब ढिलो नगरी तराई–मधेसमा क्रियाशील सामाजिक समूह, धार्मिक गुरु तथा सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष छलफल अगाडि बढाउनेछौँ । सामाजिक सद्भाव बिग्रन नदिन र उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक वृत्तभन्दा बाहिरका सरोकारवालासँग पनि सहकार्य गरिनेछ ।’
बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तत्कालै संयुक्त पहल गर्ने निर्णय गरेका छन् । राज्यको प्रतीक्षा नगरी दलहरू आफैँ फिल्डमा गएर शान्ति स्थापनाका लागि आह्वान गर्ने सहमति भएको आङदेम्बेले जानकारी दिए ।