लण्डन। विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो करिब १२ बजेतिर काराकोरम हिमश्रृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।
बिबिसीका अनुसार, उक्त टोलीमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच नेपाली पर्वतारोही रहेको बताइएको छ।
टोलीका नेता पुर्जा सन् २०१९ मा मात्र छ महिनाभन्दा अलि बढी समयमै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर चर्चित बनेका थिए।
मौसम अनुकूल भएमा उद्धार टोलीले हेलिकप्टर प्रयोग गर्ने योजना बनाएको छ।
ब्रड पिकलाई चुनौतीपूर्ण हिमालहरूमध्ये एक मानिन्छ र यो विश्वको १२औँ अग्लो शिखर हो।
पाकिस्तानको अल्पाइन क्लबले जारी गरेको वक्तव्यमा सरकारसँग निरन्तर सम्पर्कमा रहँदै “तत्काल खोज तथा उद्धार अभियान” सुरु गर्न पहल भइरहेको जनाएको छ।
क्लबले हेलिकप्टर सहयोग सुनिश्चित गर्न र उपलब्ध सबै स्रोतहरू यथाशीघ्र परिचालन गर्न “सम्भव सबै प्रयास” भइरहेको उल्लेख गरेको छ।
“यस कठिन समयमा सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँग ऐक्यबद्धता जनाउँछौँ,” वक्तव्यमा भनिएको छ।
पुर्जाले सन् २००३ मा बेलायती सेनामा प्रवेश गरेका थिए र सन् २००९ मा रोयल मरीन बनेका थिए।
उनको पर्वतारोहण यात्रा सन् २०१२ मा एभरेस्ट बेस क्याम्पसम्म पुगेपछि सुरु भएको थियो। त्यसबेला फर्कने योजना भए पनि उनले त्यहीँबाट सम्पूर्ण हिमाल आरोहण गर्ने निर्णय गरेका थिए।