१५ श्रावण २०८३, शुक्रबार
Follow Us

रविसँगको भेटपछि धार्मिक अगुवाको संयुक्त अपिल: सामाजिक सद्भाव कायम राखौं

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८३, शुक्रबार ०९:२८

काठमाडौं । पछिल्लो केहि दिनयता सुनसरीलगायत तराई–मधेशका केही जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिन्दु र मुस्लिम समुदायका धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन ।

अपिलमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ । कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुने उनीहरुले बताएका छन । हालैका घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

साथै, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह समेत गरीएको छ । संयुक्त वक्तव्यमा केही स्वार्थ समूहले धर्मको नाममा हिंसा फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै नागरिकलाई संयमित रहन तथा उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपिल गरिएको छ ।

धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचाराको प्रवर्द्धन रहेको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मप्रति विभेद वा वैमनस्य सिकाउँदैन भन्ने तथ्यलाई आत्मसात् गर्नुपर्नेमा जोड दिइएको छ ।

धार्मिक अगुवाहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन आग्रह गरेका छन् ।

सबै नेपालीलाई शान्ति, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारका हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरिएको छ ।

धेरै पढिएको