लन्डन । नेपालबाट लन्डन पुगेका उद्यमी समीर खनालले मध्य लन्डनको प्रतिष्ठित मेफेयर क्षेत्रमा रोजवुड फार्मेसी सञ्चालनमा ल्याएका छन्।
डेढ दशकदेखि नेपालमा उत्पादित जडीबुटीलाई लन्डनमा प्रवर्द्धन गर्दै आएका खनालले स्थापना गरेको फार्मेसीको उद्घाटन युएईको शाही परिवारका सदस्य शेख फैसल बिन खालिद अल कासिमीले एक विशेष समारोहबीच गरेका हुन्।
मेफेयर लन्डनको सबैभन्दा सम्पन्न र प्रतिष्ठित क्षेत्रमध्ये एक हो। खनालले आफ्नै स्वामित्वको सम्पत्तिमा उक्त फार्मेसी सञ्चालनमा ल्याएका हुन्। मेफेयरमा लक्जरी किनमेल केन्द्र, विश्वस्तरीय होटल, उत्कृष्ट रेस्टुरेन्ट, जर्जियाली वास्तुकला तथा हाइड पार्कलगायतका आकर्षण रहेका छन्।
फार्मेसी उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष डा. हेमराज शर्मा, एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष विराज भट्ट, चितवन एड ट्रस्टका अध्यक्ष राजु आचार्य, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवर, उद्यमी एल.एन. पाण्डे, कमल पौडेल, बसन्त नेपाललगायत ब्रिटिश तथा नेपाली व्यवसायी र समुदायका प्रतिनिधिको उपस्थिति थियो।
उपस्थित वक्ताहरूले मेफेयरजस्तो प्रतिष्ठित क्षेत्रमा नेपाली व्यवसायीले व्यवसाय स्थापना गर्नु सम्पूर्ण नेपालीका लागि गर्व र खुसीको विषय भएको बताए। लन्डनको प्रतिष्ठित स्थानमा प्रिमियम ब्रान्डमार्फत नेपाली उत्पादन उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै उनीहरूले यसले नेपाली उत्पादन मात्र होइन, समग्र नेपालको पनि अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
उनीहरूले गैरआवासीय नेपाली समुदायका एक सदस्यले हासिल गरेको यो व्यावसायिक सफलता सम्पूर्ण समुदायका लागि प्रेरणा र उत्साहको विषय भएको पनि बताए।
कार्यक्रममा रोजवुड फार्मेसीका प्रबन्ध निर्देशक समीर खनालले उपस्थित सबै अतिथिप्रति आभार व्यक्त गर्दै आफ्नो ब्रान्ड ‘सरयू’मार्फत अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरका नेपाली उत्पादनको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए।
‘सरयू’ ब्रान्डले नेपालबाट प्रिमियम हिमालयन जङ्गली मह, यार्सागुम्बा, शिलाजितलगायत बहुमूल्य नेपाली जडीबुटीका कच्चा पदार्थ आयात गरी लन्डनमा प्रशोधन, उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।
खनालले रोजवुड फार्मेसी औषधि बिक्री गर्ने स्थान मात्र नभई नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने प्रभावकारी प्लेटफर्मका रूपमा पनि विकास गर्ने लक्ष्य रहेको बताए। अन्य फार्मेसीमा उपलब्ध सामग्री रोजवुड फार्मेसीमा पनि समान मूल्यमा पाइने भए पनि प्रिमियम ब्रान्डका सामग्रीको मूल्य गुणस्तरअनुसार निर्धारण गरिएको उनले बताए।
खनालले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे। चितवन स्थायी घर भई काठमाडौंको महाराजगञ्जमा बसोबास गर्दै आएका उनी अध्ययनका लागि बेलायत पुगेका थिए। निरन्तरको मेहनत र पेशाप्रतिको इमान्दारिताका कारण आजको सफलतासम्म पुग्न सकेको उनको भनाइ छ।
उनले भने, “मेहनत आवश्यक पर्छ, तर त्यति मात्रै भएर पुग्दैन। सही समय र सही ठाउँमा कडा मेहनत गर्न सकियो भने सफलता अवश्य प्राप्त हुन्छ। यही मेरो सिकाइ हो।”