१८ श्रावण २०८३, सोमबार
Follow Us

विराटनगरका उद्योगी मुन्दडाको घरमा प्रहरीको छापा

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८३, सोमबार ०६:३५

विराटनगर । विराटनगरका उद्योगी घराना मुन्दडा समूहका सञ्चालक प्रकाश मुन्दडाको घरमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्यसमेत रहेका मुन्दडाको निवासमा बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (पुरानो जिल्ला प्रहरी कार्यालय)बाट करिब एक सय मिटर दूरीमा रहेको मुन्दडाको घरमा प्रहरीले के कारणले छापा मारेको हो भन्नेबारे प्रशासनले औपचारिक जानकारी दिएको छैन। मोरङ प्रहरीले गृह मन्त्रालयको निर्देशनमा अनुसन्धानका क्रममा खानतलासी गरिएको जनाएको छ।

मुन्दडा समूहले बाबा आयल, जुट मिल, चाँदीका गहना बनाउने उद्योग जेजे ज्वेलर्सलगायत उद्योग सञ्चालन गर्दै आएको छ। प्रहरी टोलीले पाँच घण्टाभन्दा बढी समय घरको खानतलासी गरेको थियो। घरका सबै कोठा, भान्छा, दराज र अन्य सामान जाँच गरिएको मुन्दडाले बताए ।

“उहाँहरूलाई कुनै जानकारी आयो, उहाँहरूले आफ्नो ड्युटी निर्वाह गर्नुभयो। हाम्रो घरको किचन, कोठा र एउटा–एउटा दराज सबै खोलेर हेर्नुभयो। कुनै सामान लैजानुभएन र क्लिन चिट दिएर जानुभयो,” मुन्दडाले भने।

प्रहरीले जिल्ला प्रशासन कार्यालयतर्फ र गोल्छामोडतर्फबाट सडक बन्द गरी सर्वसाधारणको आवतजावतसमेत रोकेर खोजी गरेको थियो। प्रहरीको खानतलासीपछि नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत केही राजनीतिक दलका नेताहरू पनि मुन्दडाको घर पुगेका थिए।

पाँच घण्टाको खानतलासीपछि बाहिरिएका उद्योगी बेनीगोपाल मुन्दडाले प्रहरीले घरबाट कुनै सामग्री फेला नपारेको र बरामदसमेत नगरेको प्रतिक्रिया दिए । प्रहरीले भने यस विषयमा औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

धेरै पढिएको