काठमाडौं । उद्धार अभियानमा अन्तिम क्षणसम्म खटिएका वरिष्ठ नेपाली पर्वतारोही मिङमा डेभिड शेर्पाकाअनुसार नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए)को समन्वयमा युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ।
उनी अगस्ट ६ मा कतार एयरवेजको उडानमार्फत साँझ ४:४५ बजे युक्त गुरुङको पार्थिव शरीरसहित काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
उद्धार अभियानदेखि पार्थिव शरीर स्वदेश ल्याउने प्रक्रियासम्म सहयोग पुर्याउने नेपाल सरकार, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, सम्पूर्ण पर्वतारोहण समुदाय, परिवार, आफन्त तथा प्रार्थना र ऐक्यबद्धता जनाउने सबैप्रति शेर्पाले हार्दिक आभार व्यक्त गरेका छन्।
आफ्नो सन्देशको अन्त्यमा शेर्पाले युक्त गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘हिमालले तिमीलाई हामीबाट टाढा लग्यो होला, तर तिम्रा सम्झनाहरू कहिल्यै टाढा जाने छैनन्। तिम्रो साहस, तिम्रा सपना र तिम्रो विरासत सधैँ जीवित रहनेछ। तिमीले हिमालमा लेखेको इतिहासले पुस्तौँसम्म प्रेरणा दिइरहनेछ।’