कालीकोट । कालीकोटको पलाँता गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
कालीकोट प्रहरीले शुक्रबार पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तिमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्ने तथा अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे १४ र १५ वर्षका एकाघरका दुई भाइ अस्पतालको वाइफाइमा मोबाइल जोडेर ओपीडी नजिकै गेम खेलिरहेका थिए । चिकित्सकले अस्पताल परिसरबाहिर गएर मोबाइल चलाउन भनेपछि उनीहरूले चिकित्सकसँग विवाद गरेका थिए ।
त्यसपछि उनीहरूको परिवारका अन्य सदस्यसमेत आएर चिकित्सकमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । राति पुनः अस्पतालमा तोडफोडसमेत भएको प्रहरीको भनाइ छ । घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।