२३ श्रावण २०८३, शनिबार
Follow Us

सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८३, शनिबार १२:४९

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गरेका हुन् । उनले युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको स्पष्ट पारे ।

सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै उनले सरकारलाई ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिए । मधेस र पहाडको सम्बन्धका बारेमा चर्चा गर्दै परियारले दुई क्षेत्रबीच केवल सद्भाव मात्र नभई ‘समभाव’को आवश्यकता रहेको औँल्याए । उनले गरिब, सुकुम्वासी, मजदुर र उत्पीडित वर्गको पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूले इतिहासको अवमूल्यन गरिरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । समाज विकासको क्रममा हरेक पुस्ताको योगदान महत्त्वपूर्ण हुने भन्दै उनले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरीलगायतका नेताहरूले गरेको सङ्घर्षलाई कसैले नजरअन्दाज गर्न नमिल्ने बताए ।

अध्यक्ष परियारले भने, ‘२००७ सालदेखिको निरन्तर सङ्घर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, सङ्घीयता र सामाजिक न्यायको पक्षमा यो मोर्चा सधैँ उभिनेछ । यदि संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिहरूमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ । सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन । ’

अध्यक्ष परियारले वर्तमान संविधान पूर्ण नभए पनि यो तुलनात्मक रूपमा उत्पीडित समुदायको पक्षमा रहेको उल्लेख गर्दै यसको रक्षाका लागि जनता सचेत हुनुपर्ने बताए । अग्रगामी मोर्चाले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर सङ्घर्ष जारी राख्ने संकल्प गरेको छ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

धेरै पढिएको