काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेपाल फर्कने समय फेरिएको छ । उनी २६ साउनमा स्वदेश फर्किएर २९ साउनको इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने तयारी थियो । तर देउवा २८ गते बिहीबार थाइ एयरवेजको विमानबाट नेपाल फर्किन लागेको जनाइएको छ ।
नेपाल फर्कने देउवा हङकङबाट बैंकक पुगेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका छन । देउवानिकट नेताहरूका अनुसार, उनी शुक्रबार हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका हुन् ।
अब बैंककबाटै नेपाल फर्किने कार्यक्रम तय भएको छ । देउवा २६ साउनमा स्वदेश फर्किएर राजनीतिक भेटघाट गर्ने तय भएको थियो । ‘उहाँ २६ गते नेपाल फर्किएर राजनीतिक भेटघाट गर्ने तय भएको थियो । तर कुरा हुँदा साथीहरूले विमानस्थलमा स्वागत गर्न जान चाहना राख्नुभयो ।
सोही चाहनाअनुसार हङकङबाट रात्रिकालीन उडान मात्र भएकाले उहाँ थाइल्यान्ड जानुभएको छ,’ विश्वकर्माले भने । देउवा २८ साउनमा आएर २९ को भेलामा सहभागी हुनुअघि राजनीतिक भेटघाटको वातावरण नबनाउनको लागि समय सारिएको हो भन्ने प्रश्नमा संस्थापनइतरका नेताहरू त्यसलाई स्वीकार गर्दैनन् । ‘त्यसो गर्न होइन ।
दिउँसो स्वागत गर्नको लागि समय सारिएको हो,’ इतर समूहका एक नेताले भने । उनले देउवाको भव्य स्वागत गर्ने तयारी भइरहेको बताए ।