२४ श्रावण २०८३, आईतवार
Follow Us

एनआरएनए राजनीतिक दलको पेवा होइन : गणेश पराजुली

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०८३, आईतवार १८:५२

लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) कुनै पनि राजनीतिक दलको पेवा हुन नसक्ने बताएका छन्।

सोमवारदेखि डब्लिनमा आयोजना हुने १७औँ युरोप क्षेत्रीय बैठकमा सहभागी हुन प्रस्थान गर्नु अघि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, “गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय बैठकमा मुख्य अतिथिको रूपमा आमन्त्रित भई डब्लिन आइपुग्दैछु। भ्रमणको मुख्य उद्देश्य राष्ट्र निर्माणका लागि नेपाली डायस्पोरासँग सार्थक संवाद गर्नु हो।”

पराजुलीले गैरआवासीय नेपाली संघलाई साझा चौतारीका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै स्पष्ट रूपमा भने, “गैरआवासीय नेपाली संघ विशुद्ध साझा संस्था हो। यो कुनै पनि राजनीतिक दलको पेवा वा भ्रातृ संगठन बन्न सक्दैन र बन्नु हुँदैन। यसलाई दलीय राजनीतिभन्दा माथि राखेर सम्पूर्ण नेपालीको साझा चौतारी बनाउनु आजको आवश्यकता हो।”

उनले युरोप मात्र नभई विश्वभर फैलिएका नेपालीहरू आफ्नो ज्ञान, सीप र क्षमताका आधारमा उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै उनीहरूसँग देशको समृद्धिका लागि संवाद गर्नु नै आफ्नो यात्राको मुख्य उद्देश्य रहेको बताए।

पराजुलीले उक्त १७औँ युरोप क्षेत्रीय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। सम्मेलन सोमबार र मंगलबार गरी दुई दिनसम्म सञ्चालन हुनेछ।

धेरै पढिएको