काठमाडौं । रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन ।
बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेको प्रहरीले जनाएको छ । उनीहरू मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयबासीले जानकारी दिएका छन ।
उनीहरू बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जानकारी दिएको छ ।
घटनापछि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोली खोजीमा परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन ।