२७ श्रावण २०८३, बुधबार
Follow Us

‘ग्वाङ्झाओ’ मा हुने ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी पूरा

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८३, बुधबार १३:२८

काठमाडौं । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आगामी १५ देखि १७ अगस्ट २०२६ सम्म चीनको ग्वाङ्झाओस्थित क्राउन प्लाजा ग्वाङ्झाओ सिटी सेन्टर होटलमा आयोजना हुने भएको छ। “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कंडेलले जानकारी दिएका छन्।

गैरआवासीय नेपाली संघ, ११औँ गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजक समिति तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको मुख्य आयोजनामा सम्मेलन हुन लागेको हो।

१५ अगस्टमा हुने उद्घाटन समारोहको अध्यक्षता एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कंडेलले गर्नेछन् भने प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यता रहनेछ। कार्यक्रममा विभिन्न राजनीतिक दलका सचेतक, सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा गैरआवासीय नेपाली संघका संस्थापक र अग्रज नेतृत्वको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

सम्मेलनमा नेपाल र गैरआवासीय नेपाली समुदायसँग सम्बन्धित व्यापार, लगानी, वैदेशिक रोजगार, नागरिकता, पर्यटन, महिला तथा युवा नेतृत्व र संघको संस्थागत विकासलगायतका विषयमा छलफल हुनेछन्। व्यापार तथा लगानीसम्बन्धी सत्रमा गैरआवासीय नेपाली र नेपालको व्यापार तथा लजिस्टिक क्षेत्रबीच लगानीका सम्भावना तथा अवसरबारे नीतिगत छलफल हुनेछ।

एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरूको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानका विषयमा पनि छलफल हुने जनाइएको छ। त्यस्तै, सुरक्षित वैदेशिक रोजगार, पुनःएकीकरण, सीमापार मानव बेचबिखन तथा आप्रवासी कामदारहरूको अधिकार सुरक्षाका विषयमा विस्तृत बहस हुनेछ।

नेपाली नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीका अधिकारहरूको संस्थागत कार्यान्वयन सम्मेलनको अर्को महत्वपूर्ण विषय हुनेछ। पर्यटन प्रवर्द्धनअन्तर्गत विशेषगरी पर्वतीय तथा स्वास्थ्य पर्यटनमार्फत गैरआवासीय नेपाली समुदायको सञ्जाल र शक्तिलाई नेपालको पर्यटन विकासमा उपयोग गर्ने विषयमा छलफल गरिनेछ।

महिला सशक्तीकरण तथा दोस्रो पुस्ताका नेपालीहरूको पहिचान, नेतृत्व विकास र विश्वव्यापी सञ्जाल विस्तारका लागि पनि विशेष सत्र सञ्चालन गरिनेछ। “व्यवसाय निर्माण, रूपान्तरण नेपाल” भन्ने उद्देश्यका साथ महिला तथा युवा सहभागितालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। साथै, गैरआवासीय नेपाली संघको सांगठनिक पहिचानलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुनेछ।

१६ अगस्टमा विभिन्न पूर्ण सत्र सम्पन्न भएपछि ‘ग्वाङ्झाओ घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ। सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिहरूका लागि ग्वाङ्झाओबाट उत्तरतर्फ करिब ७० देखि ८० किलोमिटर दूरीमा रहेको छिमेकी छिङयुआन सहरस्थित प्रसिद्ध गुलोङ सिया ग्लास ब्रिजमा आधिकारिक अवलोकन भ्रमणको कार्यक्रमसमेत तय गरिएको छ।

सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ। आयोजकले सम्मेलनमा सहभागी भई समाचार सम्प्रेषण गरिदिन सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

धेरै पढिएको