काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा धर्ना दिने भएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज बिहान ९ बजे काठमाडौँ प्रहरी परिसर अगाडि धर्ना कार्यक्रम तय गरिएको हो।
महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि ऐक्यबद्धता जनाउन प्रेस स्वतन्त्रता पक्षधर, पत्रकार तथा नागरिक समाजलाई धर्ना कार्यक्रममा उपस्थितिका लागि हार्दिक आह्वान गरेको छ।
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्टै प्रहरीले पत्रिकाको कार्यालयमा छापा मारेको छ। बिहीबार बिहान प्रहरीको टोली जनआस्थाको कार्यालय पुगेर खानतलासी तथा छापा मारेको हो। यसअघि बुधबार साँझ प्रहरीले पत्रकार श्रेष्ठलाई उनकै निवासबाट पक्राउ गरेको थियो।
प्रचण्डको आपत्ति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।
उनले पत्रकार श्रेष्ठलाई पक्राउ गर्दा कानुनी प्रक्रिया र निर्धारित विधि पालना नगरिएको दाबी गर्दै यस्तो कार्यले लोकतान्त्रिक व्यवस्थाकै उपहास हुने टिप्पणी गरेका छन् । प्रचण्डले पक्राउ परेका श्रेष्ठलाई तत्काल रिहा गर्न सरकार तथा सम्बन्धित निकायसँग मागसमेत गरेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको नख्खु क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।