लिस्बन (पोर्चुगल) — तामाङ समाज पोर्चुगलले पत्रकार पुस्तक रेग्मीलाई सम्मान गरेको छ । समाजले आयोजना गरेको ‘डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६’ कार्यक्रम सफल बनाउन पुर्याएको योगदानको कदर गर्दै रेग्मीलाई सम्मान–पत्र प्रदान गरिएको हो ।
पोर्चुगलमा पहिलो पटक आयोजना गरिएको उक्त सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा नेपाली कला, संस्कृति र तामाङ समुदायको मौलिक पहिचानलाई प्रवर्द्धन गर्न पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै रेग्मीलाई सम्मान गरिएको तामाङ समाज पोर्चुगलले जनाएको छ ।
समाजले कार्यक्रमको प्रचार–प्रसार तथा सफल आयोजनाका लागि प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने क्रममा पत्रकार रेग्मीलाई पनि सम्मान–पत्र प्रदान गरेको हो ।
सम्मान ग्रहण गर्दै पत्रकार रेग्मीले तामाङ समाज पोर्चुगलले नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिमा आफ्नो क्षेत्रबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त सम्मान कार्यक्रम गत सोमबार अगस्ट १० तारिख लिस्बनस्थित एभरेस्ट मम रेस्टुरेन्ट आन्जुसको सभाहलमा सम्पन्न भएको हो । समाजले पत्रकार लगायत नेपालदेखि आउनुभएका चर्चित गायक विश्व दोङ लगायत स्थानीय कलाकारहरुलाई समेत सम्मान गर्नुभएको थियो ।
पत्रकार रेग्मी नेपाल पत्रकार महासङ्घ युरोप शाखा र प्रेस युनियन युरोपका कार्यसमिति सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका महासचिव समेत हुन्।