३ भाद्र २०८३, बुधबार
Follow Us

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिने

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८३, बुधबार ०६:०९

काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार दुबै मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

कर्णाली प्रदेशमा नेकपा मंगलबहादुर शाही १२ साउनमा र सुदूरपश्चिममा नेकपाकै खगराज भट्ट २९ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत परीक्षणका लागि कर्णाली र सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दैछ । विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्री शाहीले सोमबार सदनमा पत्र दर्ता गराइसकेका छन् ।

कर्णाली दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए । कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेकाले सोहीअनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

उक्त बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ ।

भट्टले पनि विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यहाँ दुई राज्यमन्त्री, सात मन्त्रीसहित १० जनाको मन्त्रिमण्डलमा हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा छन् ।

मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

धेरै पढिएको