लण्डन । नेपाली लोकसंगीतको पछिल्लो पुस्तामा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी गायिका सुशीला गौतम यतिबेला यूरोप यात्रामा छिन्। नेपाली लोकदोहोरी र मौलिक गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेकी गौतमले यूरोपका सात देशमा सांगीतिक प्रस्तुति दिने भएकी छन्।
यूरोप भ्रमणको पहिलो चरणमा गौतम फिनल्याण्ड पुगेकी छन्। शनिबार, २२ अगस्टमा फिनल्याण्डबाट उनको यूरोप सांगीतिक यात्रा औपचारिक रूपमा सुरु हुँदैछ। त्यसपछि उनले डेनमार्क, पोर्चुगल, नेदरल्याण्ड, स्पेन, स्वीडेन र नर्वेमा प्रस्तुति दिने कार्यक्रम तय भएको छ।
गौतमले ६० भन्दा बढी लोकप्रिय गीतमा स्वर दिइसकेकी छन्। विशेषगरी भगवानको महिमा समेटिएका भजन तथा लोकदोहोरी गीतमार्फत उनले श्रोताको ध्यान खिचेकी हुन्। उनको स्वरमा रहेको लोकभाव, सरल प्रस्तुति र नेपालीपनले उनलाई पछिल्लो पुस्ताका चर्चित लोकगायिकामध्ये एकका रूपमा स्थापित गरिरहेको छ।
गौतमको पछिल्लो सांगीतिक प्रस्तुति ‘मोरे सैया’ समेत सार्वजनिक भएको छ। गायिका सुशीला गौतम र गायक खेम सेन्चुरीको संयुक्त स्वर रहेको गीतमा प्रेमभावसँगै नेपाली संस्कृति र मौलिकताको झल्को प्रस्तुत गरिएको छ।
नयाँ पुस्तामाझ लोकसंगीतलाई अझ आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयासका रूपमा ‘मोरे सैया’लाई हेरिएको छ। गौतमले यस वर्ष दुईवटा तीज गीतसमेत रेकर्ड गरिसकेकी छन्।
यूरोपमा रहेका नेपाली समुदायमाझ आफ्नो संगीत प्रस्तुत गर्ने उद्देश्यसहित गौतमले करिब तीन साताको अवधिमा विभिन्न देशमा कार्यक्रम गर्नेछिन्।
यूरोपका विभिन्न शहरमा हुने यी कार्यक्रम गौतमका लागि विदेशमा रहेका नेपाली दर्शकमाझ आफ्नो संगीतलाई थप विस्तार गर्ने अवसरसमेत बनेका छन्।
नेपालमा लोकदोहोरी र भजनमार्फत बनाएको आफ्नो सांगीतिक परिचयलाई यूरोपसम्म पुर्याउँदै गौतमले नेपाली गीत–संगीतको मौलिक स्वाद प्रवासमा रहेका नेपाली समुदायमाझ बाँड्नेछिन्।
उनको निर्धारित कार्यक्रम:
२२ अगस्ट — फिनल्याण्ड
२९ अगस्ट — डेनमार्क
६ सेप्टेम्बर — पोर्चुगल
७ सेप्टेम्बर — नेदरल्याण्ड
१० सेप्टेम्बर — स्पेन
१२ सेप्टेम्बर — स्वीडेन
१३ सेप्टेम्बर — नर्वे
