८ भाद्र २०८३, सोमबार
Follow Us

महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०८३, सोमबार १४:५३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् ।

देउवा र खड्काले वारेसमार्फत सोमबार छुट्टाछुट्टै रिट दायर गरेका हुन् । दुवैले कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी निर्वाचन कार्यतालिका बदर गर्न माग गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो । सोही कार्यतालिकालाई यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।

उक्त निर्वाचन कार्यक्रमविरुद्ध देउवा र खड्का सर्वोच्च पुगेका हुन् ।

यसअघि विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको फैसलामा पुनरवलोकन माग गर्दै देउवा र खड्काले निवेदन दिएका थिए । सर्वोच्चले पुनरवलोकनको अनुमति दिइसकेको छ ।

उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीको महाधिवेशन गर्न नहुने देउवा, खड्कासहित संस्थापनइतर पक्षको जिकिर छ ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा रिट प्राप्त भएको पुष्टि गरे । ‘कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा रिट आएको छ,’ उनले भने, ‘हामी अध्ययनकै क्रममा छौँ ।’

देउवा र खड्काले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका बदर गरी त्यसलाई कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।

धेरै पढिएको