बाढीपीडितका लागि रु. १ करोड १ हजार सहयोग पठाइने।
लन्डन । बेलायतको केम्टन पार्कमा १७ औँ नेपाली मेला २०२६ भव्य रूपमा सम्पन्न भएको छ। उत्साह, सांस्कृतिक रौनक र एकताको सन्देशसहित सम्पन्न मेलामा नेपाली कला, संस्कृति, परम्परा र पहिचान झल्काउने विविध कार्यक्रम प्रस्तुत गरिएका थिए। तमुधिँ यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित मेलामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ आयोजित मेलामा नेपाली भेषभूषा, कला, परम्परा, सांस्कृतिक झाँकी तथा नृत्यले केम्टन पार्कलाई दिनभर नेपालमय बनाएको थियो। मेलामा ४२ संघसंस्थाले झाँकी तथा २१ समूहले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए।
कार्यक्रममा पूर्वउपसभामुख तथा सांसद इन्दिरा राना मगर, सांसद मिङ्मा डेभिड शेर्पा, ब्रिगेडियर जनरल अनुप शाहलगायत विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, बेलायतस्थित नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपालमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला आयोजक तमुधिँ यूकेले आकस्मिक बैठकमार्फत मेला पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन गर्ने निर्णय गरेको थियो। मेलाबाट संकलित रकम तथा संस्थागत कोषबाट नेपालका बाढीपीडितका लागि तत्काल सहयोग पठाउने निर्णय गरिएको मेला संयोजक तथा तमुधिँ यूकेका उपाध्यक्ष कमल गुरुङले जानकारी दिए। विपद्को घडीमा विदेशमा रहेका नेपाली समुदायको एकता र जिम्मेवारी प्रदर्शन गर्ने उद्देश्यले सहयोग रकम पठाउने निर्णय गरिएको उनले बताए। आयोजकका अनुसार बाढीपीडितका लागि कुल रु. १ करोड १ हजार सहयोग पठाइनेछ।
तमुधिँ यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव डा. विशाल गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए। हजारौँ दर्शकको उत्साहजनक उपस्थितिले मेलालाई थप भव्य बनाएको थियो। मेलाले बेलायतमा नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
झाँकी प्रतियोगिताको निर्णायक मण्डलमा नेपालबाट आएका राजु गुरुङ, दीप कोके गुरुङ, ओमप्रसाद गुरुङ, पशुपति राई र श्रीजना सुब्बा रहेका थिए। नृत्य प्रतियोगिताको निर्णायकमा रजनी गुरुङ ‘मंगली’, लक्ष्मी गुरुङ, बेलायतकी कोरियोग्राफर कविता घर्तीमगर गुरुङ र कर्म पहाडी शेर्पा रहेका थिए। निर्णायक मण्डलको समन्वय एकेन्द्र गुरुङले गरेका थिए।
एम्बासडर कप २०२६ मा पासा पुचः गुठी यूकेले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। प्रतियोगितामा मगर संघ यूके दोस्रो र किरात राई यायोक्खा यूके तेस्रो भएका छन्। त्यस्तै, एनआरएनए कपको उपाधि पनि पासा पुचः गुठी यूकेले नै जितेको छ।
नृत्य प्रतियोगितातर्फ तनहुँ समाज यूके प्रथम, पासा पुचः गुठी यूके द्वितीय र किरात राई यायोक्खा यूके तृतीय भएका छन्। झाँकी प्रतियोगितामा पासा पुचः गुठी यूके प्रथम, मगर संघ यूके द्वितीय र बर्न्ट ओक समाज यूके तृतीय भएका छन्।
कार्यक्रममा समाजसेवा, कला तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘इन्स्पायरिङ पर्सन अफ द इयर’ सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेमा मेडवे बरो काउन्सिलकी पूर्वमेयर काउन्सिलर निना गुरुङ, एफएनजे यूकेकी अध्यक्ष बिमला सेनी, ऐभरेष्ट टाइम्सका डा. दूत पुन र नगेन्द्र नेम्बाङ तथा ग्रान्डमास्टर तुलसीकुमार गुरुङ रहेका थिए।
मेलामा खानाका विभिन्न स्टल, व्यापारिक तथा च्यारिटी स्टल, स्वास्थ्य शिविर र राफल ड्रलगायतका गतिविधि सञ्चालन गरिएको थियो। स्टल व्यवस्थापन तथा संयोजन तमुधिँ यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले गरेकी थिइन्। विभिन्न परिकारका नेपाली खानासहितका स्टलमा दर्शकको उल्लेखनीय भीड देखिएको थियो।
स्टेज कार्यक्रमको सञ्चालन सूर्य गुरुङ, योगेश गुरुङ, दुर्गा गुरुङ, शिवाङ्गी गुरुङ र हेलिशाले गरेका थिए। तमुधिँ यूकेको औपचारिक कार्यक्रम महासचिव डा. विशाल गुरुङ र सचिव बिमल गुरुङले सञ्चालन गरेका थिए।
यसैबीच, एनआरएनए यूकेका प्रमुख संरक्षक तथा तमुधिँ लन्डन इकाइका पूर्वअध्यक्ष डेभिड गुरुङले नेपालमा आएको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै विश्वभर रहेका नेपालीलाई एकजुट भएर पीडितको सहयोगमा जुट्न अपिल गरेका छन्।
नेपाली मेला २०२६ ले बेलायतमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।








