काठमाडौँ । नुवाकोटस्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा नेपाली सेनासहितको खोज तथा उद्धार टोलीले आउटलेट फेला पारेको छ।
नेपाली सेनाले बुधबार बिहान ११ बजेसम्मको हवाई तथा जमिनी खोज एवं टनेल उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै ९३ सदस्यीय संयुक्त टोलीले टनेलको आउटलेट फेला पारेको जनाएको हो।
सेनासहितको संयुक्त टोलीले तीन वटा एक्स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाएको थियो। कम्प्रेसर मेसिन र ब्रेकर प्रयोग तथा ब्लास्टिङ गरेपछि टनेलको आउटलेट फेला परेको सेनाले जनाएको छ। वर्षाका कारण राति टनेलमा जमेको करिब १.५ मिटर पानी पम्पबाट निकाल्ने काम भइरहेको छ।
विभिन्न आयोजनाका टनेलमा संयुक्त टोली
रसुवागढी जलविद्युत् आयोजनामा उद्धार टोली टनेलको करिब १५० मिटरभित्र पुगेको छ। ठूला चट्टानका कारण टोली थप भित्र प्रवेश गर्न नसकेपछि बुधबार पुनः खोज तथा उद्धार कार्य अघि बढाइएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञसहित २५ सदस्यीय संयुक्त टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धारमा जुटेको छ। चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ।
रसुवाको हाँकुस्थित अपर त्रिशूली–१ आयोजनामा नेपाली सेनाको टोली परिचालित छ। त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१ जना, तीन जना गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली खटिएको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरी उक्त क्षेत्रसम्म पुग्न एक्स्काभेटरबाट बाटो बनाइरहेको सेनाले जनाएको छ।
टिमुरेबाट ‘स्लिङ लोड अपरेसन’ सुरु
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती भइरहेको छ। स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै उद्धारको आवश्यकता मूल्याङ्कन गर्न समुदायसँग प्रत्यक्ष रूपमा अवस्था बुझ्ने काम भइरहेको सेनाले जनाएको छ।
त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ। टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन ‘स्लिङ लोड अपरेसन’ सुरु गरिएको छ।
नौ हजार दुई सयभन्दा बढी सैनिक परिचालित
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजार दुई सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्।
सेनाले अन्य निकायसँगको समन्वयमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेको जनाएको छ।