१० आश्विन २०८३, शनिबार
Follow Us

आशाको किरण रहुन्जेल हामी कहिल्यै हार मान्ने छैनौँ : चिनियाँ रक्षा मन्त्रालय

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८३, शुक्रबार ११:२२

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको जिरोङ काउन्टीमा गएको पहिरोपछि उद्धार तथा राहत कार्यका लागि चिनियाँ जनमुक्ति सेना (पीएलए) र सशस्त्र प्रहरी बलले ७२६ जना जनशक्ति, २४ वटा इन्जिनियरिङ सवारीसाधन र ६० सेट विशेष उपकरण परिचालन गरेको चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले बताएका छन्।

शुक्रबार सैन्य सहभागिताबारे सोधिएको प्रश्नको जवाफ दिँदै जियाङले उद्धार टोलीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, सडक सफाइ, ढुवानी तथा राहत सामग्री वितरणसँगै चिकित्सा सेवा र महामारी रोकथामका काम गरिरहेको जानकारी दिए।

उनका अनुसार उद्धार टोलीले १३ हजार ९ सय घनमिटरभन्दा बढी पहिरोको भग्नावशेष हटाएको, हेलिकोप्टरमार्फत ७७ जना उद्धारकर्मी तथा १.२३ टन उपकरण र राहत सामग्री मुख्य प्रभावित क्षेत्रमा पुर्‍याएको छ। साथै, ९ सयभन्दा बढी स्थानीय बासिन्दा तथा उद्धारकर्मीलाई चिकित्सा सेवा प्रदान गरिएको छ।

नेपालबाट आएको पहिरोले हालै जिरोङ काउन्टीमा ठूलो क्षति पुर्‍याउँदै मानवीय क्षति हुनुका साथै केही मानिस बेपत्ता भएका छन्। घटनापछि पीएलए र सशस्त्र प्रहरी बलले तत्काल आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी स्थानीय उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा सहयोग गरिरहेको जियाङले बताए।

उनले चिनियाँ सुरक्षाकर्मीहरू अझै उद्धारको अग्रपंक्तिमा रहेर समयसँग प्रतिस्पर्धा गर्दै बेपत्ताको खोजी गरिरहेको र मानवीय क्षति न्यून गर्न सक्दो प्रयास भइरहेको बताए।

“आशाको किरण रहुन्जेल हामी कहिल्यै हार मान्ने छैनौँ,” जियाङले भने।

धेरै पढिएको