२० भाद्र २०८३, शनिबार
Follow Us

बाढी अपडेट : मृत्यु हुनेको संख्या १,३४४ पुग्यो, अझै ४,८९८ जना बेपत्ता

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८३, शनिबार ०७:१७

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्।

प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका आंशिक अंगहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ।

बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन्। १,३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन्। विस्थापित भएका ३,६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ।

खोज तथा उद्धार कार्यका लागि ७,२१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

धेरै पढिएको