काठमाडौं । बेलायतबाट त्यहाँको सर्वोच्च अदालतका एकजना न्यायाधीशको नेतृत्वमा पाँच जनाको टोली हिजो काठमाडौं आइपुगेको छ । टोलीमा वरिष्ठ अधिवक्ता, ट्राइब्युनलका न्यायाधीशहरु पनि रहेको बुझिएको छ ।
उक्त टोली आइतबार दिउँसो २ बजेदेखि ललितपुर, पुल्चोकस्थित स्क्वायर होटलमा सर्वोच्च अदालतले आयोजना गरेको गोष्ठीमा सहभागी भएको छ । साँझ डिनरसम्म हुने कार्यक्रममा मानवअधिकार, कानुनी शासनलगायत विषयमा बेलायती टोलीले कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।
मुलुकमा आएको प्रलयकारी बाढीको अवस्थालाई ध्यानमा राखेर टोलीको खानपिन, होटलको व्यवस्थापन काठमाडौंस्थित बेलायती दूतावासले मिलाएको बुझिएको छ ।
प्रधानन्यायाधीश चीन जाँदै
प्रधानन्यायाधीश मनोज शर्मा उत्तरी छिमेकी मित्रराष्ट्र चीन जाने कार्यक्रम तय भएको छ । असोज ४ गतेदेखि ८ गतेसम्मका लागि उनी सम्भवतः ३ गते नै काठमाडौंबाट प्रस्थान गर्ने बुझिएको छ ।
प्रधानन्यायाधीशको टोलीमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार बिमल पौडेल, प्रधानन्यायाधीश पत्नी,निजी सचिव राजेन्द्र पौडेलसहित चार जना रहने छन् । टोलीले चीनमा आयोजना हुन लागेको न्यायाधीशहरुको दक्षिण एसियाली सम्मेलनमा भाग लिने छ ।