२२ भाद्र २०८३, सोमबार
Follow Us

ग्यासको लाममा बन्धक बाल्यकाल: पाँच कक्षामा पढ्ने मनिष भन्छन्- ‘नेता फेरिए, हाम्रो पालो फेरिएन’

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०८३, सोमबार ०७:०७

काठमाडौँ । एकातिर कक्षाकोठाको कालोपाटी, अर्कोतिर सडकको लाम । शनिवारदेखि खाली सिलिण्डर कुर्दैछन् कक्षा ५ का मनिष बस्नेत । काठमाडौँको एउटा साँघुरो गल्लीमा बिहानै उनी ग्यास पाइने आसमा लाइनमा छन् । सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिण्डरहरू फलामे सिक्री र ताल्चाले एक अर्कामा बाँधिएका छन् । मानौँ कुनै कैदीको लस्कर उभिएको होस् । त्यही लस्करको बीचमा एउटा बालक बसेको छ ।

मनिष बस्नेत । उनी कक्षा ५ का विद्यार्थी हुन् । सामान्य दिन हुन्थ्यो भने यतिबेला मनिष विद्यालयको पोसाकमा सजिएर कक्षाकोठाको बेन्चमा साथीहरूसँग गणितका हिसाब जोड्दै वा नेपालीका कविता वाचन गर्दै हुन्थे । तर आज उनको दैनिकी कालोपाटीको अगाडि होइन, सडकमा लामवद्ध ग्यास सिलिण्डरको अगाडि सुरु भएको छ । कारण एउटै छ-घरको चुलो निभेको छ, र त्यो चुलो बाल्ने एउटा सिलिण्डर पाउन मनिष शनिवारदेखि सडकको यो अनन्त लाममा बस्न बाध्य छन् ।

‘ग्यास छैन । ग्यास पाएन । ग्यास छैन भनेकाले स्कुल नि जान पाएन । १ दिनको छुट्टी लिएर यहाँ आएको छु । अब ग्यास आएन भने फेरि मेरो ग्यासको पछाडिको मान्छेले आफ्नो अगाडि लान्छन् । ग्यासको नि अभाव छ । यो जुन नेता आए नि यो ग्यासको चाहिँ लाइन बस्नुपर्ने कहिले हट्दैन । शनिवारदेखि बसिरहेको । आएको छैन । अब मंगलवारसम्म आउँछ बसिराख्नु भनेको छ । म पाँच कक्षामा पढ्छु’

मनिषका यी शब्दहरू केवल एउटा बालकको गुनासो मात्र होइनन् । यो देशको सिंगो राज्य संयन्त्र र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नेतृत्वमाथिको तीतो र निष्कपट झापड हो । अहिले बालबालिकाले भविष्यका सपना देख्नुपर्ने हो, नयाँ ज्ञान सिक्नुपर्ने हो । तर मनिषले सानै उमेरमा सिकिसकेका छन्– ‘यदि आफ्नो सिलिण्डर नहेरी एक छिन अन्तै गइयो भने पछाडिको मान्छेले आफ्नो सिलिण्डर अगाडि तानिदिन्छ ।’

अभाव र असुरक्षाले एउटा कलिलो मनलाई पनि स्वार्थ र प्रतिस्पर्धाको कठोर नियम बुझ्न बाध्य बनाइदिएको छ ।
शनिवारदेखि सुरु भएको यो पर्खाइ सोमवारसम्म आइपुग्दा मनिषको सहनशीलताको परीक्षा लिइरहेको छ । आइतबार साँझसम्म पनि डिपोको सटर खुलेन ।

‘भोलि बिहानै गाडी आउँछ’ भनिएपछि मनिषले आइतबार राति आफ्ना आमाबुबासँग सल्लाह गरे । घरमा आमाबुबा ज्यालामजदुरी र काममा जानैपर्ने बाध्यता । यदि कोही लाइनमा नबस्ने हो भने चार दिनको पर्खाइ बालुवामा पानी बन्ने खतरा छ । अन्ततः मनिषले विद्यालयमा ‘एक दिनको बिदा’ लेखाउने निधो गरे । तर त्यो ‘एक दिनको बिदा’ अहिले अनिश्चित बनेको छ । एक दिनको बिदा अब चार दिनको गैरहाजिरीमा बदलिँदै छ । मनिषको कापीमा शिक्षकले दिएका प्रश्नहरू अनुत्तरित छन्, जस्तै अनुत्तरित छन् ती सरकारी मन्त्री र आयल निगमका हाकिमहरू, जसले सिंहदरबारको वातानुकूलित कोठाबाट माइक फुक्दै भन्छन्-‘बजारमा ग्यासको कुनै अभाव छैन, एक हप्तामा सबै सामान्य हुन्छ, कोही लाइन बस्नु पर्दैन ।’

‘बजारमा ग्यासको अभाव छैन, उपभोक्ता आत्तिनु पर्दैन’शनिवारदेखि सोमवारसम्म लाइन बस्दा पनि सिलिण्डर हात परेको छैन । सयौँ मिटरसम्म सिलिन्डरलाई सिक्री-ताल्चाले बाँधेर बालबालिका समेत पहरा दिन विवश छन् ।

ग्यास नपाउँदा विद्यालय जाने बालबालिकाको पढाइ छुटिरहेको छ । मंगलवारसम्म ग्यास आउला वा नआउला, त्यो त समयले बताउला । तर केही थान ग्यासका सिलिण्डर आए पनि मनिषको यो खोसिएको सोमवार कहिल्यै फर्किने छैन । उनको मस्तिष्कमा कोरिएको यो अविश्वासको घाउ कुनै सरकारी वक्तव्यले पुछ्न सक्नेछैन । जब देशको भविष्य मानिएका बालबालिकालाई कक्षाकोठाबाट तानेर ग्यासको लाममा उभ्याइन्छ, तब कुनै पनि देश ‘समृद्ध’ हुन सक्दैन ।

धेरै पढिएको