लन्डन — नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका लागि चिल्ड्रेन भिजन नेपालले बेलायतबाट सहयोगको अपिल गरेको छ।
ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सको आयोजनामा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा चिल्ड्रेन भिजन नेपालका संस्थापक अध्यक्ष रमेश सिलवालले नेपालका बाढीपीडित तथा प्रभावित बालबालिकाको तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि बेलायतमा रहेका नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बाढीका कारण धेरै परिवारले घर, विद्यालय, रोजगारी तथा दैनिक जीवनका आधारभूत आवश्यकतासमेत गुमाउनुपरेको उल्लेख गर्दै प्रभावित क्षेत्रका नागरिक तथा बालबालिकाका लागि खाना, स्वच्छ खानेपानी, कपडा, स्वास्थ्य सेवा, सुरक्षित आवास तथा बाल संरक्षण जस्ता आधारभूत आवश्यकतामा तत्काल सहयोग आवश्यक रहेको बताउनुभयो।
“नेपालका प्रभावित नागरिक र बालबालिका अहिले हाम्रो सहयोगको प्रतीक्षामा छन्। व्यक्ति, संस्था, व्यवसायी तथा नेपालप्रति सद्भाव राख्ने सबैले आफ्नो क्षमता र स्थानअनुसार सहयोगका लागि अगाडि आउन आवश्यक छ,” सिलवालले भन्नुभयो।
उहाँले आफू पनि बाढी प्रभावित नदी क्षेत्र नजिकै जन्मिएर हुर्किएको उल्लेख गर्दै प्राकृतिक विपत्तिबाट उत्पन्न पीडा आफूले नजिकबाट अनुभूति गरेको बताउनुभयो। साथै, चिल्ड्रेन भिजन नेपालले प्रभावित बालबालिका तथा परिवारको उद्धार, राहत र आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका पदाधिकारी, वेस्ट लन्डन चेम्बर अफ कमर्सका प्रतिनिधि, बेलायतस्थित व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा अध्यक्ष सिलवालले आगामी दिनमा नेपालका बाढीपीडितका लागि च्यानल एसले आयोजना गर्न लागेको सहयोग तथा फन्डरेजिङ कार्यक्रमप्रति आभार व्यक्त गर्दै त्यसमा आवश्यक सहकार्य र सहयोगका लागि चिल्ड्रेन भिजन नेपाल तयार रहेको बताउनुभयो।
यसैबीच, कार्यक्रमकै दिन नेपालमा भएको जेन–जी आन्दोलनको पहिलो वार्षिकोत्सव परेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष सिलवालले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले देशमा उत्पन्न चुनौतीपूर्ण परिस्थितिबाट प्रभावित नागरिक तथा विशेषगरी बालबालिकाको भविष्यप्रति सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले विपत्तिबाट प्रभावित परिवार तथा बालबालिकाको जीवनमा आशा र भरोसा जगाउन सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
“हामी सबैको साझा प्रयास र सहयोगबाट विपत्तिबाट प्रभावित परिवारलाई पुनःस्थापित गर्न, नेपाललाई पुनःउभ्याउन र हाम्रा बालबालिकालाई सुरक्षित तथा उज्ज्वल भविष्यको आशा दिन सकिन्छ। यसका लागि सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग र सहकार्य गर्न आवश्यक छ,” सिलवालले भन्नुभयो।