२५ भाद्र २०८३, बिहीबार
Follow Us

जेन–जी आन्दोलन राष्ट्रघाती तत्त्वले हाइज्याक गरे: प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८३, बुधबार ०५:५२

सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेन–जी आन्दोलनमा गलत तत्त्वको प्रवेशपछि आन्दोलनको स्वरूप परिवर्तन भएको दाबी गरेका छन् ।

बाह्रबिसे नगरपालिका–८ मानेस्वारामा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै प्रचण्डले युवाहरूको स्वतःस्फूर्त सहभागितामा सुरु भएको आन्दोलनलाई राष्ट्रघाती तत्त्वले आफ्नो स्वार्थअनुकूल प्रयोग गरेको आरोप लगाए ।

उनले आन्दोलन सुरु हुँदा प्रशासनको अनुमति लिएर शान्तिपूर्ण रूपमा कार्यक्रम भइरहेको भए पनि पछि विभिन्न गलत तत्त्वको घुसपैठ भएको बताए । त्यसपछि आन्दोलन ‘हाइज्याक’ हुँदा परिस्थिति नियन्त्रणबाहिर गएको र त्यस क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो ।

प्रचण्डले आन्दोलनका क्रममा सिंहदरबार, न्यायालय र प्रशासनिक कार्यालयसँगै निजी घरमा समेत आगजनी तथा तोडफोड गर्नेहरूलाई पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताए ।

वर्तमान सरकारका केही व्यक्तिले मानवअधिकारवादी र सुरक्षा निकायबाट तयार पारिएका प्रतिवेदनसमेत सार्वजनिक हुन नदिने प्रयास गरिरहेको आरोप पनि उनले लगाए । यस्तो कार्यप्रति आफ्नो पार्टी र व्यक्तिगत रूपमा गम्भीर दुःख तथा आपत्ति रहेको प्रचण्डले बताए ।

कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलकी दिवंगत आमा गंगादेवी पौडेलको १३औँ पुण्यतिथि तथा भदौ १० गते भोटेकोशी र रसुवामा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना गरिएको थियो ।

प्रचण्डले राष्ट्रघाती प्रवृत्तिको सामना गर्न राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने धारणा राखे । अब जनताले नेता र राजनीतिक शक्तिको वास्तविक चरित्र छुट्याउने समय आएको उनको भनाइ थियो ।

आगामी निर्वाचनमा राष्ट्रवादी र राष्ट्रघाती प्रवृत्तिको पहिचान गरेर जनताले नेतृत्व चयन गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

यसैबीच, भोटेकोशी र रसुवामा आएको बाढीका बेला सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रचण्डले विपद्को समयमा राज्यले नागरिकलाई अभिभावकत्वको अनुभूति गराउन नसकेको बताए ।

उनले सामाजिक सञ्जाल र एल्गोरिदममा सरकारको उपस्थिति देखिए पनि वास्तविक काम र कार्यसम्पादनमा भने वर्तमान सरकार असफल भइसकेको आरोप लगाए ।

धेरै पढिएको