काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् । सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी मागेकी हुन् ।
उनले जेन जेड स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन् ।
मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो । मन्त्री गौतमले आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उनको जिकिर छ ।
उनले आफू राजनीतिक व्यक्ति भएकाले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या भएको बताइन् । उनले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएकोप्रति असन्तुष्टि पनि जनाइन् ।
उनले भनिन्, ‘मैले जेनजी स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषयवस्तुहरूलाई लिएर मान्यज्यूहरूले केही प्रश्नहरू गर्नुभएको छ । जेनजी सहिदका परिवारहरूले एउटा कार्यक्रम आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा सरकारका मन्त्रीहरूलाई पनि निमन्त्रणा थियो । विभिन्न दलका नेतागणहरूलाई पनि निमन्त्रणा थियो ।’
उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि बताएकी छन् ।