लन्डन । भोटेकोशीमा आएको विनाशकारी आकस्मिक बाढीबाट ज्यान गुमाएका तथा प्रभावितहरूको सम्झनामा नेपाली ब्रिटिश कम्युनिटी (एनबीसी–यूके) ले लन्डनको ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलन तथा स्मृतिसभा आयोजना गर्ने भएको छ।
एनबीसी–यूकेका अध्यक्ष समिरनाथ प्याकुरेलका अनुसार कार्यक्रम आगामी आइतबार, सेप्टेम्बर २७, दिउँसो २ बजेदेखि सुरु हुनेछ।
स्मृतिसभामा बेलायतस्थित नेपाली समुदायका सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ। बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा सहभागीहरूले विद्युतीय मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्ने तथा दिवंगत आत्माको सम्मानमा एक मिनेट मौनधारण गर्ने कार्यक्रम रहेको प्याकुरेलले जानकारी दिए।
भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीले जनधनमा ठूलो क्षति पुर्याएको घटनाप्रति बेलायतस्थित नेपाली समुदायले समेत दुःख व्यक्त गर्दै आएको छ। स्मृतिसभामार्फत बेलायतमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराई विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झना गर्ने र प्रभावित परिवारप्रति साथ तथा ऐक्यबद्धता व्यक्त गर्ने आयोजकको भनाइ छ।
एनबीसी–यूकेका सचिव दामोदर आचार्यले बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई बाढीपीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेका छन्।
कार्यक्रम:
स्थान: ट्राफल्गर स्क्वायर, लन्डन
मिति: आइतबार, सेप्टेम्बर २७
समय: दिउँसो २ बजे
मुख्य कार्यक्रम: विद्युतीय मैनबत्ती प्रज्वलन र एक मिनेट मौनधारण