२८ आश्विन २०८३, बुधबार
Follow Us

‘बहुलाउँछु कि क्या हो?’ ले पार गर्‍यो १० लाख भ्युज

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०८३, बुधबार ०६:३९

काठमाडौं । अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘३६ को आँकडा’ को ‘बहुलाउँछु कि क्या हो?’ शीर्षकको गीत सार्वजनिक भएको केही दिनमै युट्युबमा एक मिलियन (१० लाख) भ्युज पार गर्न सफल भएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शकबाट उल्लेख्य साथ पाएको हो।

गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको सुमधुर स्वर रहेको छ भने यसका शब्द तथा संगीत सुरेश अधिकारीले सिर्जना गरेका हुन्। प्रेमभाव झल्काउने यस गीतमा अभिनेत्री रेखा थापा र अभिनेता महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडीलाई देख्न सकिन्छ।

गीतले एक मिलियन भ्युज पार गरेपछि अभिनेत्री थापाले दर्शक, शुभेच्छुक तथा गीतलाई माया गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन्। छोटो समयमै प्राप्त भएको माया र साथले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ।

‘सम्झिँदा तिमीलाई ढुकढुकी रोकिन्छ छिनछिन, होसै छैन केही पनि रातै हो कि दिन’ जस्ता प्रेमिल शब्दहरू समेटिएको यो गीतले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाउने अपेक्षा गरिएको छ। यस गीतको सफलताले फिल्मको प्रचारप्रसारमा समेत थप ऊर्जा थपेको छ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रेखा थापा, महेश त्रिपाठी, पूजा शर्मा, पुष्प खड्का र निरुता सिंहलगायतका कलाकारहरू मुख्य भूमिकामा छन्।

पारिवारिक कथावस्तुमा आधारित यस फिल्मले परिवारभित्रका सम्बन्ध, आपसी मनमुटाव र त्यसबाट उत्पन्न परिस्थितिलाई पर्दामा जीवन्त रूपले प्रस्तुत गर्नेछ। फरक पुस्ताका चर्चित कलाकारहरूको सहभागिताले पनि फिल्मलाई विशेष चासोको विषय बनाएको छ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा थापा यस फिल्मकी अभिनेत्री तथा निर्मात्रीसमेत हुन्। यो फिल्म आगामी मङ्सिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। गीतले पाएको यस प्रारम्भिक सफलताले फिल्मको बक्स अफिस प्रदर्शनप्रति दर्शकको अपेक्षालाई अझ उचाइमा पुर्‍याएको देखिन्छ।

धेरै पढिएको