नवलपुर । बाढीले बगाएर ल्याएको राइनो क्रुज जहाज पिलरमा अड्किएपछि सुरक्षाका कारण बन्द गरिएको नारायणी पुलमा पुनः सवारीसाधनको आवागमन सञ्चालनमा आएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातको समयमा साना तथा अत्यावश्यक सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको र ठूला मालवाहक सवारीमा रोक लगाइएको थियो। तर, अहिले भने अवस्था सामान्य बन्दै गएकाले सबै प्रकारका सवारीसाधनलाई वारपार गर्न दिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए।
पुलको पिलरमा अड्किएको क्रुज भने अझै पन्छाउन सकिएको छैन। बिहानैदेखि पानीको बहाव विश्लेषण गर्दै क्रेनको सहायताले क्रुजलाई सुरक्षित रूपमा किनारमा लगाउने वा बगाएर पठाउने प्रयास भइरहेको प्रहरी निरीक्षक गिरीले बताए।