जनकपुरधाम । नेपालको स्वास्थ्य क्षेत्रमा विदेश पलायन भएका जनशक्तिको ज्ञान, सीप, अनुभव र लगानीलाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले छैटौं ग्लोबल हेल्थ कन्फरेन्स २०२६ आगामी डिसेम्बर ४ र ५ गते ऐतिहासिक शहर जनकपुरधाममा आयोजना हुने भएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने सम्मेलनको मुख्य विषय ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोलाबोरेसन’ (Reverse Migration with Global Collaboration) रहेको छ। सम्मेलनले स्वास्थ्यकर्मीको विदेश पलायनलाई मानव स्रोतको क्षतिका रूपमा मात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन, लगानी र स्वास्थ्य प्रणाली सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने विषयमा छलफल गर्नेछ।
सम्मेलनमा सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार, निजी क्षेत्र तथा विश्वभर रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सहभागिता रहनेछ।
नेपालका चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता तथा अन्य स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिले विदेशमा महत्वपूर्ण योगदान दिइरहेका छन्। सम्मेलनले विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञहरूको सीप र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्ने उद्देश्य राखेको छ।
सम्मेलनका आयोजकका अनुसार विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई नेपालको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबीच सहकार्य स्थापना गर्ने, चिकित्सा शिक्षा, फेलोसिप, विशेषज्ञ तालिम तथा भिजिटिङ फ्याकल्टी कार्यक्रम विस्तार गर्ने, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउने र डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मी तथा लगानीकर्तालाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने तथा मधेश प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ। सम्मेलनले वैदेशिक पलायनलाई उल्ट्याउने तथा डायस्पोरा संलग्नताका व्यावहारिक उपाय विकास गर्दै विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दीर्घकालीन राष्ट्रिय ढाँचा निर्माण गर्ने लक्ष्य लिएको छ।
सम्मेलनका लागि जनकपुरधाम छनोट हुनु पनि महत्वपूर्ण मानिएको छ। मधेश प्रदेशको राजधानी तथा महत्वपूर्ण सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुरधामबाट स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौंकेन्द्रित सीमाबाट बाहिर विस्तार गर्दै प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने आयोजकको विश्वास छ।
सम्मेलनको प्रमुख अपेक्षित उपलब्धिमध्ये ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोलाबोरेसन २०२६’ जारी गर्ने तयारी पनि रहेको छ। उक्त घोषणाले सरकार, विश्वविद्यालय, स्वास्थ्य संस्था, विकास साझेदार तथा विश्वभर रहेका नेपाली स्वास्थ्य समुदायबीच आगामी दिनमा सहकार्यका लागि एउटा साझा ढाँचा प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान, डिजिटल स्वास्थ्य, मेन्टरसिप, स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा निरन्तर सहकार्यका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य पनि सम्मेलनले राखेको छ।
आयोजकका अनुसार सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नगरी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने प्रयास गरिनेछ। यसअन्तर्गत भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबीच साझेदारी, मेन्टरसिप कार्यक्रम, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने विषयलाई अघि बढाइनेछ।
सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनील साहले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्दै विदेश पलायनलाई नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
प्रा. डा. पदम सिम्खडा तथा स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा. डा. अङ्कुर शाहले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञता र नेपालको स्वास्थ्य क्षेत्रबीच दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा गरेका छन्।
सम्मेलनको मूल सन्देश नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने रहेको छ। विश्वभर फैलिएको नेपाली स्वास्थ्य जनशक्तिको ज्ञान, सीप, अनुभव र स्रोतलाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोड्न सके यसले नेपालमा थप सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।