डब्बो । नेपाली समुदायकी युवा आन्या सुमन कोइराला ‘एनएसडब्लु युवा स्वयंसेवक वर्ष, ओराना २०२६’ की विजेता बनेकी छन्। समुदायप्रतिको निरन्तर सेवा, स्वयंसेवा र नेपाली संस्कृति प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उनले यो प्रतिष्ठित सम्मान प्राप्त गरेकी हुन्।
आन्याले स्वयंसेवा गर्दा न मौसमको परवाह गरिन्, न समयको। उनले कहिल्यै पुरस्कार वा सम्मानको अपेक्षा गरिनन्। अरूलाई कसरी सहयोग गर्न सकिन्छ, समुदायलाई कसरी केही फर्काउन सकिन्छ र आफूले कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने नै उनको प्राथमिकता रह्यो।
नेपाली भाषा विद्यालयमा शिक्षकहरूलाई सहयोग गर्ने, साना बालबालिकालाई मार्गदर्शन गर्ने तथा विभिन्न सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउनेदेखि लिएर नेपाली कला र संस्कृतिको प्रवर्द्धनसम्म उनी निरन्तर सक्रिय रहँदै आएकी छन्।
नेपाली गीतमा नृत्य प्रस्तुत गर्दै उनले विभिन्न कार्यक्रम तथा महोत्सवहरूमा नेपाली संस्कृति चिनाउँदै आएकी छन्। एनएसडब्लु भरिका विभिन्न सामुदायिक कार्यक्रममा नेपाल र नेपाली समुदायको प्रतिनिधित्व गर्न उनी सधैं अग्रसर रहिन्।
उनको यही निस्वार्थ सेवा, समर्पण र समुदायप्रतिको प्रेमले आज एउटा महत्वपूर्ण सम्मान प्राप्त गरेको छ।
आन्याका अभिभावकका लागि यो क्षण गर्व र भावनाले भरिएको छ। उनीहरूका लागि यो केवल पारिवारिक खुसीको विषय मात्र नभई अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि गौरवको क्षण पनि हो।
हाल एनएसडब्लुको एउटा सानो सहर डब्बोमा बसोबास गर्ने आन्याले आफ्नो कर्मबाट एउटा सुन्दर सन्देश दिएकी छन्—ठूलो परिवर्तन ल्याउन ठूलो उमेर वा ठूलो पद आवश्यक पर्दैन; अरूका लागि केही गर्ने सानो मन र ठूलो इच्छाशक्ति भए पुग्छ।
नेपाली समुदायको संस्कृति र पहिचानलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा चिनाउँदै आएकी आन्याको यो उपलब्धिले नयाँ पुस्तालाई पनि स्वयंसेवा र समुदायप्रति जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।