काठमाडौँ। कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप भएको छ । आज बुधबार सुन्दरहरैचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विषयलाई लिएर झडप भएको हो ।
अधिवेशनमा बुधबार मनोनयन गर्ने कार्यसूची थियो । तर, उद्घाटन नै नहुँदै तोडफोड कुटपिट भएपछि अधिवेशन भाडिएको छ ।
यो घटनामा नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन् । उनीहरू नोबेल मेडिकल कलेजमा भर्ना भएका छन् । सहमहामन्त्री डा. डीला संग्रौलामाथि पनि हातपात भएको छ ।
यसअघि क्रियाशील सदस्य विवादमा वडा अधिवेशन समयमा नै भएको थिएन । मोरङ–६ डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस महाधिवेशनबाट अलग छन् । तर, अधिवेशनमा बिथोल्न कोइरालानिकट कार्यकर्ता रहेको कांग्रेस संस्थापन पक्षको दाबी छ ।