१७ आश्विन २०८३, शनिबार
Follow Us

कांग्रेस महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८३, शनिबार १२:२९

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । देशभरका ७७ जिल्ला र प्रवासबाट समेत प्रतिनिधि सहभागी हुने र यो संख्या कांग्रेसको इतिहासमै सबैभन्दा धेरै भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनको तयारी लगभग पूरा भएको कांग्रेसले जनाएको छ । खाना, खाजा, पार्किङलगायत व्यवस्थापनका काम सम्पन्न भइसकेको प्रवक्ता चालिसेले जानकारी दिए ।महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी नीति, कार्यक्रम र विधान संशोधनका विषयमा समेत निर्णय हुनेछन् ।

कांग्रेसले यसपटकको महाधिवेशनलाई केवल नेता चयन गर्ने अधिवेशनका रूपमा नभई ‘नीति चयन’को अधिवेशनका रूपमा अघि बढाउने तयारी गरेको चालिसेले बताए । उनका अनुसार उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ ।

विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पार्टीका पद थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हललाई हुनेछ । आइतबारको उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदन पेस हुनेछन् ।

सभापतिले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्रसमेत प्रस्तुत गर्ने कार्यक्रम छ । असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

देश शोकमा रहेको उल्लेख गर्दै प्रवक्ता चालिसेले महाधिवेशनमा कुनै तामझाम नगरी सामान्य ढंगले कार्यक्रम सम्पन्न गरिने बताएका छन् ।
उनका अनुसार ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता कांग्रेसको इतिहासमा अहिलेसम्मकै ठूलो हुनेछ ।

धेरै पढिएको