काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाबाट रामजीवी पन्थले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यको उम्मेदवार हुनका लागि कोटा पहिलोपटक छुट्याइएसँगै पन्थले उम्मेदवारी दिने घोषणा गरेका हुन् । संशोधित विधान अनुसार जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्डबाट एक जना केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । नेपाली जनसम्पर्क समिति इटालीको संस्थापक समेत रहेका पन्थ जर्मनी हुँदै पछिल्लो समय अमेरिकामा छन् ।
केन्द्रीय सदस्यको उम्मेदवारी घोषणासँग पन्थले आफूले उठाउने एजेण्डाहरु पनि सार्वजनिक गरेका छन् । दोहोरो नागरिकताको अधिकारलाई प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने उनले बताएका छन् । ‘विदेशबाट मतदान गर्न पाउने अधिकारका लागि पहल गर्नेछु ।
दोहोरो करसम्बन्धी समस्याको समाधानका लागि नीतिगत पहल गर्नेछु,’ पन्थले भने,‘प्रवासी नेपालीका समस्या र आवाजलाई पार्टीको केन्द्रीय नीति निर्माण तहसम्म पुर्याउने छु । विश्वभरका नेपाली जनसम्पर्क समितिलाई पार्टीसँग अझ सशक्त रूपमा जोड्ने छु ।’
वैदेशिक रोजगारीका सिलसिलामा मध्यपूर्वलगायत विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको श्रम, पारिश्रमिक, सुरक्षा, कानुनी तथा अन्य समस्याको पहिचान गरी समाधानका लागि सम्बन्धित निकाय र नीति निर्माण तहमा प्रभावकारी रूपमा आवाज उठाउने उनले प्रतिवद्धता व्यक्त गरे ।