काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले सोमबारदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सोमबार एक विज्ञप्ति जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय भएको जनाएको छ ।
१२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।
मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएको, फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा एक्कासि इलेक्ट्रोनिक र चीपसेटको मूल्य महंगिएको आइस्पानले जनाएको छ । यही कारणले आईएसपीहरूको सञ्चालन चल्न सकस भएको हुँदा हाल दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।
‘कोरोना कालदेखि भोटेकोशीको बाढीसम्म आइएसपीहरुले निरन्तर अतिआवश्यक इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। यसरी डिजिटल नेपालको सपनालाई सार्थक बनाउन अहोरात्र खटिररहनु भएका इन्टरनेट सेवा प्रदयाकहका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
बिगतका वर्षहरुका मूल्यवृद्धि, मध्यपूर्वको तनावले गर्दा चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्याधिक मुद्रास्फीतिको अवस्था र आइएसपीको वृद्धिले गर्दा एक्कासी महंगिएको इलेक्ट्रोनिक र चिपसेटको मूल्य एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा आइएसपीहरुको अपरेसनसमेत चल्न सकस भएको हुँदा आइएसपीहरुले दिंदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएको बिनम्र अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।