२० आश्विन २०८३, मंगलवार
Follow Us

‘एभेन्जर्स: एन्डगेम’ पुनः बक्स अफिसको शीर्ष स्थानमा

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार ०५:२८

काठमाडौँ । जेम्स क्यामरुनको चलचित्र ‘अवतार’ सँग विश्वव्यापी बक्स अफिसको शीर्ष स्थान गुमाएको ६ वर्षपछि मार्वलको ब्लकबस्टर चलचित्र ‘एभेन्जर्स: एन्डगेम’ पुनः पहिलो स्थानमा उक्लिएको छ। हलहरूमा पुनः प्रदर्शन भएसँगै ‘एन्डगेम’ ले इतिहासकै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान आफ्नो नाममा फर्काएको हो।

बक्स अफिस मोजोका अनुसार, ‘एभेन्जर्स: एन्डगेम’ ले विश्वभर कुल २.९२५५ बिलियन अमेरिकी डलर कमाइ गर्दै ‘अवतार’ को २.९२३७ बिलियन अमेरिकी डलरकाे व्यापारलाई झिनो अन्तरले उछिनेको छ।

मार्भल सिनेम्याटिक युनिभर्स को आगामी बहुप्रतिक्षित चलचित्र ‘एभेन्जर्स: डूम्सडे’ प्रदर्शन हुनुअघि ‘एन्डगेम एन्कोर’ लाई पुनः हलमा उतारिएको थियो। यस पुनः प्रदर्शनले सन् २०१९ को यो सुपरहिट चलचित्रको कमाइमा उल्लेख्य वृद्धि ल्याएको छ।

कुन बजारबाट कति कमाइ ?
पुनः प्रदर्शनका क्रममा ‘एन्डगेम’ ले अमेरिकामा पहिलो सप्ताहन्तमा २ करोड ६१ लाख र दोस्रो सप्ताहन्तमा ४४ लाख अमेरिकी डलर कमायो। हालसम्म यस पुनः प्रदर्शनबाट मात्रै फिल्मले विश्वभर १२ करोड ६० लाख अमेरिकी डलर संकलन गरिसकेको छ; जसमा उत्तर अमेरिकाबाट ३ करोड ६२ लाख र अन्तर्राष्ट्रिय बजारबाट ८ करोड ९८ लाख अमेरिकी डलर समावेश छ।

विदेशी बजारमध्ये चीनमा यसले सबैभन्दा राम्रो प्रदर्शन गर्दै २ करोड १३ लाख अमेरिकी डलर व्यापार गर्‍यो, जससँगै यो चीनमा हालैका दिनमा सबैभन्दा बढी कमाउने विदेशी चलचित्र बनेको छ। इन्डोनेसिया, भियतनाम, इक्वेडर र बोलिभिया जस्ता देशहरूमा पनि यसको प्रदर्शन उत्कृष्ट रह्यो। यस्तै, भारतबाट ३६ करोड ५० लाख भारु, मेक्सिकोबाट ६१ लाख अमेरिकी डलर र ब्राजिलबाट ३१ लाख अमेरिकी डलर योगदान भएको छ।

बक्स अफिसमा पुनः मार्वलको वर्चस्व
एन्थोनी र जो रुसोद्वारा निर्देशित यस चलचित्रले सन् २०१९ मा पहिलोपटक ‘अवतार’ लाई पछाडि पार्दै शीर्ष स्थान हासिल गरेको थियो। पछि ‘अवतार’ पुनः प्रदर्शन हुँदा मार्वलबाट त्यो कीर्तिमान खोसिएको थियो। तर, अहिले ‘एन्डगेम’ ले फेरि आफ्नो ताज फिर्ता लिएको छ।

आगामी डिसेम्बर १८ मा मार्वलको ‘एभेन्जर्स: डुम्सडे’ र ‘ड्युन: पार्ट थ्री’ (Dune: Part Three) एकैसाथ प्रदर्शनमा आउँदैछन्। यी दुवै ठूला चलचित्रबीच प्रतिस्पर्धा हुनुअघि नै ‘एन्डगेम’ को यो सफलताले बक्स अफिसमा नयाँ तरंग ल्याइदिएको छ।

धेरै पढिएको