२० आश्विन २०८३, मंगलवार
Follow Us

एन्फा संरक्षक जापानका रोबिन शेरचनद्वारा टोकियोमा लेखक अर्यालको सम्मान

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार ०५:३८

टोकियो। जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्।

टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्षसमेत रहेका शेरचनले दोसल्ला ओढाएर लेखक अर्यालको सम्मान गरेका हुन्।

अर्यालले आइची–नागोयामा हालै सम्पन्न २० औं एशियाली खेलकुदको सन्दर्भमा आफ्नो पुस्तक बिमोचन गरेका थिए। जापानका लागि कार्यबहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यमा नागोयामा १८ सेप्टेम्बरमा पुस्तक बिमोचन भएको थियो। बिमोचन कार्यक्रममा शेरचनको पनि विशेष उपस्थिति रहेको थियो।

सोमबार साँझ टोकियोमा आयोजित सम्मान कार्यक्रममा एन्फा जापानका अध्यक्ष तथा आरसिटी र मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलेका शिव खड्का तथा नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, एन्फा जापानका मानार्थ अध्यक्ष वसन्त गौचनको पनि उपस्थिति थियो।

सम्मान कार्यक्रममा बोल्दै शेरचनले भने– नेपाल र जापानको खेल सम्बन्धको इतिहास खोतल्न सफल यो पुस्तक विमोचनका लागि नेपालदेखि लामो यात्रा तय गरेर आउनु भएका लेखक आर्याललाई टोकियोमा सम्मान गर्न पाउँदा खुसी लागेको छ। राज्यले महत्व दिएर गर्नुपर्ने काम उहाँको एक्लो प्रयासबाट सफल भएको छ। यसका लागि लेखकलाई धन्यवाद दिन चाहन्छु।

उनले नेपाल–जापान खेल सम्बन्धको दस्तावेज हालसम्म आफूले पढ्न नपाएको अवस्थामा यो किताबबाट नेपाल र जापानको बहुआयामिक पक्षलाई बुझ्ने मौका मिल्यो। जापानका समकालीन साथीहरुलाई खेलको माध्यमबाट नेपाल र जापानको सम्बन्ध कसरी विस्तार भयो भन्ने कुरा बताउन पाउँदा गर्व लागेको छ।

कार्यक्रममा एन्फा जापानका अध्यक्ष खड्काले वरिष्ठ पत्रकारसमेत रहेका अर्याललाई जापानमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने– हामी नेपालमा फुटबल खेल्दा उहाँ रिपोर्टिङ गर्न दशरथ रंगशाला आइरहनु हुन्थ्यो। हामी जस्ता खेलाडीहरुले खेलेर जापान र नेपालबीच सम्बन्ध स्थापित गर्न कति ठूलो योगदान गरेका रहेछौं भन्ने पत्तै पाएका थिएनौं । तर, उहाँले सरल भाषामा तथ्यसहित मलगायत मेरा अग्रजहरुको योगदानलाई लिपिबद्ध गरिदिनुभयो। यसका लागि पुस्तकका लेखक अर्याललाई ह्दयदेखि नै धन्यवाद दिन चाहन्छु। एन्फा जापानका मानार्थ अध्यक्ष गौचनले पनि पुस्तकमा आफ्नो योगदानलाई समेटेकोमा लेखकलाई धन्यवाद दिए। उनले भने– तपाईको पुस्तकबाट वास्तवमै हामीलाई गौरव गर्ने ठाउँ दिनुभएको छ।

कार्यक्रममा सफल व्यवसायी विनोद शेरचनले पनि लेखक अर्यालको मिहिनेतको प्रसंसा गरे। यस अवसरमा वरिष्ठ खेल पत्रकार तथा पुस्तकका लेखक नवीन अर्यालले एन्फा जापानप्रति आभार प्रकट गरे। उनले भने– जापानको राजधानी टोकियोमा यसरी सम्मानित हुन्छु भन्ने कल्पना गरेको थिइन।

उनले ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तक दुई देशबीचको सम्बन्ध बुझाउने दस्तावेजको भएको बताए। नेपाल र जापनबीचको सम्बन्ध थप प्रगाढ बनाउन यो किताबले महत्वपूर्ण भुमिका खेल्ने कुरामा आफू आशावादी रहेको जनाए।

कार्यक्रममा एसियाली खेलकुदका लागि रिपोर्टिङ गर्न नेपालबाट आएका खेल पत्रकारहरु विनोद पाण्डे, महेश आचार्य, प्रकाश तिमलसिना, सुभाष हुमागाई, एसके शर्मालगायतलाई पनि एन्फा जापानले खादा ओढाएर स्वागत गरेको थियो। कार्यक्रम पत्रकार मोहन घलेले सञ्चालन गरेका थिए।

धेरै पढिएको