काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो।
गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट समेत असन्तुष्टि प्रकट भएको थियो।
क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई नेपाली क्रिकेटको नियमनकारी संस्थाको बोर्डमा पठाइएको भन्दै उनको नियुक्तिबारे प्रश्न उठेको थियो।
राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट असोज १९ गते गरिएको मनोनयनको समाचार सार्वजनिक भएपछि उनको नियुक्तिबारे आलोचना सुरू भएको थियो।
आफ्नो नियुक्तिपत्र क्यानका उपाध्यक्ष रोशन सिंहलाई गुञ्जनले बुझाउँदै गरेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।