काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शनिबार विज्ञप्ति जारी गर्दै सबै नेपालीको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गरेका हुन्।
विज्ञप्तिमा दसैँको आशीर्वाद, तिहारको भाइटीका र छठको आस्थाले सबैलाई निःस्वार्थ प्रेम र सद्भावको सन्देश दिने उल्लेख छ। चाडपर्वमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने पार्टीको भनाइ छ।
रास्वपाले पार्टी स्थापना भएदेखि नै कुनै पनि प्रकारको उपहार, नगद वा जिन्सी सुविधा लिने–दिने कार्यलाई निरुत्साहित गर्दै आएको जनाएको छ। पार्टीले यस मान्यतालाई निरन्तरता दिन र सम्बन्धित सबैलाई यसको पालना गर्न आग्रह गरेको छ।
चाडपर्वमा परिवार र आफन्तबाट आशीर्वादको अपेक्षा गरिएजस्तै राजनीतिमा पनि नागरिक तथा सबै पक्षको सद्भाव, आशीर्वाद र विश्वास महत्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख छ। पार्टीले सबैको साथ र सहयोगबाट मर्यादित, सुसंस्कृत र विश्वासयोग्य राजनीतिक संस्कार निर्माण गर्न सकिने विश्वास व्यक्त गरेको छ।