नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ सुरु, एनआरएनएका वरिष्ठ नेता शेरचन सहभागी
चितवन, । नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ सुरु भएको छ। भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने र दुई देशका पर्यटन व्यवसायीबीच व्यावसायिक सहकार्य विस्तार गर्ने लक्ष्यसहित अक्टोबर २५ देखि २८ सम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन सुनौली नाकामा भारतीय पर्यटन व्यवसायीको स्वागत तथा संयुक्त उद्घाटन कार्यक्रम आयोजना गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र समृद्ध चितवन अभियानको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रममा पर्यटन क्षेत्रका संघसंस्था, स्थानीय तह, होटल तथा रिसोर्ट व्यवसायी र पर्यटन सरोकारवालाको सहकार्य रहेको छ।
‘Connecting Borders, Building Friendships, Growing Tourism’ अर्थात् ‘सीमा जोडौँ, मित्रता बढाऔँ, पर्यटन विकास गरौँ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमले भारतीय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने, पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने र नेपाली गन्तव्यलाई भारतीय पर्यटकका लागि आकर्षक भ्रमण प्याकेजमा समेट्ने लक्ष्य लिएको छ।
कार्यक्रमका समग्र नेतृत्वकर्ता तथा एनआरएनए आईसीसीका प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम नाथ सापकोटाका अनुसार, यो कार्यक्रम नेपाल सरकारबाट आर्थिक सहयोग नलिई होटल तथा पर्यटन व्यवसायीहरूको सहयोगमा आयोजना गरिएको हो। होटल तथा रिसोर्टहरूले हस्पिटालिटी पार्टनरका रूपमा सहयोग गरेका छन्।
निजी क्षेत्र, पर्यटन व्यवसायी र गैरआवासीय नेपाली समुदायको सहकार्यबाट पनि प्रभावकारी पर्यटन प्रवर्द्धन गर्न सकिने सन्देश कार्यक्रमले दिएको सापकोटाले बताउनुभयो।
कार्यक्रमको पहिलो दिन सुनौली नाकामा भारतीय पर्यटन व्यवसायीको स्वागतसँगै संयुक्त उद्घाटन कार्यक्रम राखिएको छ। उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चन, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटी, भारतका अध्यक्ष डा. जितेन्द्र पाल सिंहको सहभागिता रहनेछ।
भारतका कानपुर, लखनउ, छत्तीसगढ र दिल्लीसहित विभिन्न क्षेत्रबाट पर्यटन तथा ट्राभल व्यवसायी सहभागी हुँदैछन्। उनीहरूको सहभागिताले नेपाली पर्यटन व्यवसायीलाई भारतीय बजारसँग प्रत्यक्ष जोड्न, संयुक्त भ्रमण प्याकेज विकास गर्न र आगामी दिनमा व्यावसायिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
कार्यक्रमको पहिलो दिन रामग्राम नगरपालिकामा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ। यस क्रममा रामग्राम स्तूप तथा भगवान् गौतम बुद्धसँग सम्बन्धित बौद्ध सम्पदाको ऐतिहासिक र धार्मिक महत्त्वबारे भारतीय प्रतिनिधिमण्डललाई जानकारी गराइनेछ।
त्यसपछि नवलपुरको डण्डास्थित थारू गाउँ रिसोर्टमा थारू संस्कृति, परम्परा र सांस्कृतिक प्रस्तुतिसहित रात्रिभोज तथा अन्तरक्रिया आयोजना गरिने कार्यक्रम छ।
अक्टोबर २६ मा मौलाकालिका, होटल तथा रिसोर्ट र चितवनका प्रमुख पर्यटन गन्तव्यको अवलोकन गरिनेछ। साथै नेपाली होटल तथा पर्यटन व्यवसायी र भारतीय टुर अपरेटरबीच व्यावसायिक भेटघाट (बीटुबी) कार्यक्रम सञ्चालन हुनेछ।
अक्टोबर २७ मा चितवनका होटल, रिसोर्ट, वन्यजन्तु पर्यटन तथा स्थानीय अनुभवमा आधारित गन्तव्यको प्रवर्द्धन गरिनेछ। अन्तिम दिन अक्टोबर २८ मा आगामी सहकार्य, संयुक्त भ्रमण प्याकेज र भविष्यमा सञ्चालन गर्न सकिने पर्यटन प्रवर्द्धन कार्यक्रमबारे छलफल गरी प्रतिनिधिमण्डललाई बिदाइ गरिनेछ।
आयोजकबाट उपलब्ध गराइएको सूचीअनुसार, कार्यक्रममा भारतका विभिन्न ट्राभल तथा पर्यटन कम्पनीका प्रतिनिधिहरू सहभागी हुँदैछन्।
सहभागी प्रतिनिधिहरूमा राजेश सिन्हा (Greenways Travels), हिमांशु सक्सेना (SMH Holidays), पुनीत सिंह चावला (Suvidhaa Travels), धनराज पाहुजा (Easytime to Travel), इतिश सपरा (Go Travel Guru), परमवीर सिंह (STA Travels), सञ्जीव श्रीवास्तव (Shubhi Travels), आशिष टण्डन (Oneiro Vacations), कीर्ति श्रीवास्तव (Namaskar Travel Services) र मनोज श्रीवास्तव (Mansa Travels) रहनुभएको छ।
त्यसैगरी सर्वेश सचान (Sachan Tours & Travels Pvt. Ltd.), विशाल कुमार पाण्डेय (ALCC Holidays LLP), अलंकार मिश्र (Luxtripper Holidays Pvt. Ltd.), प्रतीक वैष (Utsav Travels), अमित श्रीवास्तव (Flystep Holidays Pvt. Ltd.), कल्याण मन्ना (Elorstar Trip), अरविन्द पाण्डेय (Holiday Adda), अभिनव शर्मा (Travel Puff), अजीत कुमार (Saga Luxury) र फिरोज खान (Apex Alpha Connector) पनि प्रतिनिधिमण्डलमा सहभागी हुने सूचीमा छन्।
ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटी, भारतका अध्यक्ष डा. जितेन्द्र पाल सिंहले पनि पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्यमा भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ।
भारतीय बजारमा नेपालको पर्यटन विस्तार गर्ने लक्ष्य
सापकोटाका अनुसार, हालैका बाढीपहिरो तथा प्राकृतिक विपद्का घटनापछि नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय पर्यटकमाझ सही र अद्यावधिक जानकारी पुर्याउनु आवश्यक छ। कार्यक्रमले नेपाली पर्यटन गन्तव्यबारे सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।
भारत नेपालको पर्यटन क्षेत्रका लागि ठूलो सम्भावना बोकेको बजार भएको उल्लेख गर्दै उहाँले भौगोलिक निकटता, खुला सीमा, धार्मिक तथा सांस्कृतिक समानता र जनस्तरको पुरानो सम्बन्धलाई पर्यटन विकासमा उपयोग गर्नुपर्ने बताउनुभयो।
“भारतीय पर्यटकको विशाल बजारलाई नेपालसँग जोड्न सके नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्न सक्छ। त्यसैले छिमेकी मुलुक भारतका सीमावर्ती सहरहरूमा प्रत्यक्ष रूपमा पुगेर नेपालको पर्यटन प्रवर्द्धन गर्ने रणनीति अपनाएका छौँ,” सापकोटाले बताउनुभयो।
उहाँका अनुसार, आगामी महिनाहरूमा भारतीय सीमावर्ती सहर गोरखपुरमा समेत नेपाली पर्यटन प्रतिनिधिमण्डलमार्फत प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना छ। सम्भव भएसम्म नेपाल सरकार तथा सम्बन्धित पर्यटन निकायसँग सहकार्य गरी नेपाली गन्तव्य, होटल, रिसोर्ट, धार्मिक सम्पदा र भ्रमण प्याकेजको प्रत्यक्ष प्रचारप्रसार गरिनेछ।
सापकोटाले छिमेकी बजारमा प्रत्यक्ष भेटघाट र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिँदै टाढाका अन्तर्राष्ट्रिय बजारमा डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
रामग्राम, लुम्बिनी, चितवन र पोखरालाई एउटै प्याकेजमा जोड्ने प्रयास
कार्यक्रमले रामग्राम, लुम्बिनी, नवलपुर, चितवन र पोखरालाई जोडेर बहुदिवसीय भ्रमण प्याकेज विकास गर्ने विषयमा विशेष जोड दिनेछ।
धार्मिक तथा आध्यात्मिक पर्यटन, वन्यजन्तु अवलोकन, थारू संस्कृति, प्रकृति, साहसिक गतिविधि, होटल तथा रिसोर्टमा आधारित विश्राम र स्थानीय जीवनशैलीका अनुभवलाई एउटै यात्रामा समेट्ने सम्भावनाबारे छलफल गरिने आयोजकले जनाएको छ।
रामग्राम स्तूप, लुम्बिनी, कपिलवस्तुका बौद्ध सम्पदा, देवदह तथा तिलोत्तमाका ऐतिहासिक र सांस्कृतिक स्थललाई चितवन तथा नवलपुरका प्राकृतिक र सांस्कृतिक गन्तव्यसँग जोड्न सके भारतीय पर्यटकले एउटै भ्रमणमा विविध अनुभव लिन सक्ने अपेक्षा गरिएको छ।
भारतीय टुर अपरेटर र नेपाली होटल तथा ट्राभल व्यवसायीबीच हुने बीटुबी भेटघाटले भारतीय बजारको माग बुझ्न, नेपाली पर्यटन सेवाको जानकारी दिन, समूहगत भ्रमण प्याकेज तयार गर्न र भविष्यका व्यावसायिक सम्झौताका सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

