डायस्पोरा

क्यानडाको ब्राम्पटन सिटी काउन्सिलरमा नेपाली मूलकी गीता ढकालको उम्मेदवारी

टोरन्टो । क्यानडाको ओन्टारियो प्रान्तस्थित ब्राम्पटन नगरपालिकाको सिटी काउन्सिलर पदमा नेपाली मूलकी गीता डवाडी ढकालले उम्मेदवारी दिएकी छन् ।
उनले नगरपालिकाको वार्ड नम्बर ३ र ४ बाट नगर परिषद् सदस्यका लागि प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

ढकालले सम्पत्ति करमा पारदर्शिता, आधारभूत पूर्वाधारको विकास, सार्वजनिक सुरक्षा, महिला सशक्तीकरण तथा ज्येष्ठ नागरिक र युवाका समस्या सम्बोधनलाई आफ्नो चुनावी एजेन्डा बनाएकी छन् । स्थानीय बासिन्दाका आवश्यकता र चासोलाई नगर परिषद्मा प्रतिनिधित्व गर्दै सुरक्षित, व्यवस्थित र समावेशी समुदाय निर्माणमा योगदान पुर्‍याउने उनको लक्ष्य छ ।

गोरखा जिल्लामा जन्मिएकी ढकाल सन् २०११ मे २१ मा परिवारसहित क्यानडा पुगेकी थिइन् । त्यसयता ब्राम्पटनमा बस्दै आएकी उनी शिक्षण, बालहेरचाह, घरजग्गा कारोबार र सामाजिक सेवामा संलग्न रहँदै आएकी छन् । नेपाली समुदायका नयाँ आप्रवासी, महिला र परिवारलाई सहयोग गर्दै आएकी उनले स्थानीय राजनीतिमार्फत समुदायका मुद्दा सम्बोधन गर्ने प्रयास थालेकी हुन् ।

गोरखामा शिक्षण, क्यानडामा व्यावसायिक यात्रा
ढकालको जन्म गोरखाको सिमसुङ गाविस–४ मा भएको हो । शिक्षक परिवारमा हुर्किएकी उनले हिमालय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा पूरा गरेकी थिइन् । त्यसपछि गोरखा क्याम्पसमा अंग्रेजी र नेपाली विषय लिएर आईएड अध्ययन गरेकी उनले विवाह र पारिवारिक जिम्मेवारीका बीच स्नातक तहसमेत पूरा गरिन् ।

अध्ययनपछि शिक्षण पेसामा प्रवेश गरेकी उनले गोरखाका विभिन्न विद्यालयमा अध्यापन गराइन् । जनकल्याण माध्यमिक विद्यालयमा करिब छ–सात वर्ष अंग्रेजी विषय पढाएकी उनी पछि परिवारसँगै चितवन हुँदै काठमाडौं सरिन् । काठमाडौंको एक निजी विद्यालयमा समेत अध्यापन गरेपछि परिवारको भविष्य र छोराछोरीको शिक्षालाई ध्यानमा राख्दै क्यानडा जाने निर्णय गरेको उनले बताएकी छन्।

क्यानडा पुगेपछि उनले चाइल्ड केयर असिस्टेन्टसम्बन्धी अध्ययन पूरा गरी आवश्यक इजाजत लिइन् । त्यसपछि आफ्नै घरमा होम डे केयर सञ्चालन गरिन् । करिब तीन वर्ष उक्त सेवा सञ्चालन गरेपछि अन्य डे केयरमा पनि काम गरेर अनुभव हासिल गरिन् ।

पछि रियल इस्टेटसम्बन्धी इजाजत लिएर घरजग्गा कारोबारमा प्रवेश गरेकी उनी पछिल्ला दुई–तीन वर्षदेखि यस क्षेत्रमा सक्रिय रहेको बताउँछिन् । शिक्षण, बालहेरचाह र घरजग्गा कारोबारको अनुभवले स्थानीय परिवारका आवश्यकता तथा आर्थिक चुनौती बुझ्न सहयोग पुगेको उनको भनाइ छ ।

आप्रवासी र महिलाका मुद्दामा सक्रिय
क्यानडामा नयाँ जीवन सुरु गर्ने क्रममा आफूले भोगेका कठिनाइ अन्य आप्रवासीले पनि भोग्न नपरोस् भन्ने उद्देश्यले ढकाल सामाजिक गतिविधिमा सक्रिय भएकी हुन् । नेपालबाट क्यानडा पुगेका नयाँ आप्रवासीलाई रोजगारी खोज्न, सरकारी सेवा तथा सुविधाबारे जानकारी लिन र आवश्यक मार्गदर्शन प्राप्त गर्न सहयोग गर्दै आएको उनले बताएकी छन् ।

नेपाली महिला र नयाँ आप्रवासीलाई सहयोग गर्ने उद्देश्यले महिला समुदायसम्बन्धी संस्था स्थापना गरी नेतृत्वसमेत गरेकी ढकालले महिला दिवस, दसैँ र तिहारलगायतका कार्यक्रम आयोजना गर्दै आएकी छन् । यस्ता गतिविधिमार्फत महिलाको सामाजिक सहभागिता बढाउनुका साथै नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिएको उनको भनाइ छ ।

उनी पिल क्षेत्रीय प्रहरी (पिल रिजिनल पुलिस) सँग कम्युनिटी एम्बेसडरका रूपमा पनि आबद्ध छिन् । करिब तीन वर्षदेखि उक्त भूमिकामा काम गर्दै आएको बताउने ढकालले प्रहरी र समुदायबीच सम्बन्ध विस्तार तथा सहकार्यमा योगदान दिँदै आएको उल्लेख गरेकी छन् ।

स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायसँग सहकार्य गर्दै समुदायका समस्या समाधानका लागि पहल गरेको अनुभवलाई अब नगर परिषद्मा उपयोग गर्न चाहेको उनले बताएकी छन् ।

सम्पत्ति कर र सार्वजनिक सुरक्षामा जोड
ढकालले चुनावी अभियानमा सम्पत्ति करको पारदर्शिता र करको भार कम गर्ने सम्भावनाको अध्ययनलाई प्राथमिकता दिएकी छन् । नगरपालिकाले करबाट उठाएको राजस्व कहाँ र कसरी खर्च गर्छ भन्नेबारे नागरिकले स्पष्ट जानकारी पाउनुपर्ने उनको धारणा छ । नगरको बजेट र खर्चको समीक्षा गरी सार्वजनिक सेवामा रकमको प्रभावकारी उपयोग गर्न तथा करदातालाई पर्ने भार कम गर्ने सम्भावना खोज्न पहल गर्ने उनको योजना छ ।

सडक, सडकबत्ती, खानेपानी र ढलजस्ता आधारभूत पूर्वाधारका आयोजना समयमै सम्पन्न गर्नुपर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेकी छन् । नगर परिषद्, मेयरको टोली र सम्बन्धित निकायसँग सहकार्य गरेर विकास निर्माणका काम प्रभावकारी बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ । ब्राम्पटनमा सवारीसाधन चोरी र सार्वजनिक सुरक्षासम्बन्धी चिन्ता सम्बोधन गर्न प्रहरी, नगर प्रशासन र स्थानीय समुदायबीच सहकार्य बढाउनुपर्ने उनको भनाइ छ ।

अपराध न्यूनीकरण, जनचेतना अभिवृद्धि र सुरक्षित सार्वजनिक वातावरण निर्माणलाई पनि उनले आफ्नो एजेन्डामा समेटेकी छन् । महिला, ज्येष्ठ नागरिक, बालबालिका र युवाका आवश्यकता सम्बोधन गर्नुका साथै सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र समावेशिता कायम गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

नेपाली समुदायबाट समर्थन र सद्भाव प्राप्त भएको बताउने ढकालले सामाजिक सेवामा हासिल गरेको अनुभवलाई स्थानीय नेतृत्वमार्फत निरन्तरता दिन चाहेको उल्लेख गरेकी छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता