डायस्पोरा

चालु आर्थिक वर्षभित्रै एनआरएन नागरिकता कार्यान्वयन गर्ने गरी कानुनी व्यवस्था गरिँदैछ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्रीद्वारा एनआरएनएको प्रशंसा

लण्डन । परराष्ट्रमन्त्री शिशिर खनालले चालु आर्थिक वर्षभित्रै गैरआवासीय नेपाली (एनआरएन) नागरिकता कार्यान्वयनमा ल्याउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकार सक्रिय रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा सोमबार परराष्ट्र मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यस्तो बताएका हुन्।

मन्त्री खनालले एनआरएन नागरिकताको कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार पार्ने काम भइरहेको जानकारी दिँदै जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोग्नुपरेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे।

उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछि गैरआवासीय नेपाली समुदायले देखाएको सद्भाव, सहयोग र मानवीय सेवाको उच्च प्रशंसा गरे।

भेटका क्रममा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य र बेलायतस्थित व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए किट हस्तान्तरण गरेका थिए।

उक्त किट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष आचार्यले गत २६ अगस्टमा रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी बाढीपछि विश्वभर रहेका गैरआवासीय नेपालीहरूले प्रभावित परिवारको सहयोगका लागि लाखौँ डलर जुटाएको बताए।

लण्डनस्थित युमी इन्टरनेशनल लिमिटेडका निर्देशक उत्तम नेपालले कठिन परिस्थितिमा नेपाल सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्नो परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरेको जानकारी दिए।

नेपालले आफ्नी छोरी सुष्मा नेपालले ‘गोफन्डमी’ अभियान सञ्चालन गरी ४२ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको पनि बताए। उक्त रकमबाट बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितहरूलाई सहयोग गरिएको उनले जानकारी दिए।

कार्यक्रममा सांसद विदुषी राणाले विदेशमा रहेका नेपालीहरूले देखाएको परोपकारी भावना र मानवीय सहयोगको प्रशंसा गरिन्। विपद्का बेला नेपाललाई विश्वभर छरिएर रहेका नेपालीहरूको सहयोग आवश्यक रहेको उनले बताइन्।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेती, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पशुपति भण्डारीलगायत गैरआवासीय नेपाली अभियानमा संलग्न व्यक्तिहरूको सहभागिता थियो।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम