३२० नवप्रशिक्षित गोर्खा सैनिकको क्याटरिकमा भव्य पास आउट परेड
बेलायत । बेलायती सेनामा सेवा गर्नका लागि तालिम पूरा गरेका ३२० जना नवप्रशिक्षित गोर्खा सैनिकले ४ नोभेम्बर २०२६ मा बेलायतको क्याटरिकस्थित परेड मैदानमा भव्य पास आउट परेड सम्पन्न गरेका छन्।
३९ हप्तासम्म सञ्चालन भएको कठिन तथा गहन सैन्य तालिम सफलतापूर्वक पूरा गरेपछि उनीहरू औपचारिक रूपमा प्रशिक्षित गोर्खा सैनिक बनेका हुन्।
उनीहरूको यो यात्रा सन् २०२५ मा नेपालबाट सुरु भएको थियो। त्यसपछि सन् २०२६ फेब्रुअरीमा पोखरामा सम्पन्न अन्तिम छनोट प्रक्रिया पार गर्दै उनीहरू तालिमका लागि छनोट भएका थिए। एटेन्डेन्ट परेड (Attestation Parade) सम्पन्न गरेपछि सफल प्रशिक्षार्थीहरू बेलायत पुगेका थिए।
बेलायतमा उनीहरूले सैन्य सीप, शैक्षिक ज्ञान तथा सांस्कृतिक सचेतनासम्बन्धी विभिन्न चुनौतीपूर्ण तालिम लिएका थिए। ३९ हप्ताको यस अवधिमा उनीहरूलाई गोर्खा सैनिकका रूपमा आवश्यक अनुशासन, शारीरिक क्षमता, व्यावसायिक दक्षता र जिम्मेवारीबोध विकास गराउने प्रशिक्षण प्रदान गरिएको थियो।
वरिष्ठ अतिथि, साथीभाइ तथा परिवारजनको उपस्थितिमा आयोजित पास आउट परेडमा ३२० जना प्रशिक्षार्थीले उत्कृष्ट प्रदर्शन गरेका थिए। क्याटरिकको परेड मैदानमा प्रस्तुत उनीहरूको अनुशासित मार्चपासले लामो प्रशिक्षण अवधिमा हासिल गरेको दक्षता र व्यावसायिकता झल्काएको थियो।
यो सफलताको श्रेय प्रशिक्षार्थीहरूको मेहनत, दृढ संकल्प, शारीरिक क्षमता र लगनशीलतासँगै गोर्खा ट्रेनिङ कम्पनी तथा ब्रिगेड अफ गोर्खाजअन्तर्गतका अनुभवी प्रशिक्षकहरूको समर्पणलाई पनि दिइएको छ।
३९ हप्ताको कठिन प्रशिक्षणपछि सम्पन्न यस परेडले उनीहरूको सैनिक जीवनको नयाँ अध्याय सुरु भएको संकेत गरेको छ। अब यी ३२० नवप्रशिक्षित गोर्खा सैनिकले बेलायती सेनामा आफ्नो जिम्मेवारी र सेवा यात्रा अघि बढाउनेछन्।

