बालगोपालेश्वरको भाइटीका प्रभावित
काठमाडौँ । अकस्मात् वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो ।
अपराह्न अकस्मात् पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुग्नुभएका भक्तजन रामजी नेपालले जानकारी दिनुभयो ।
वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ ।
वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । बुधवार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो । विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो ।
विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि बालगोपालेश्वरमा भाइटीका प्रभावित भएको थियो । भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिँदै आइएको छ ।

