ब्रेकिङ न्युज

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् ।

छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनका अनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय तथा पानीका स्रोतहरू सफा गर्ने परम्पराले वातावरण संरक्षणमा योगदान गर्ने उनको भनाई छ ।

दोस्रो पक्ष कृषि उत्पादनको प्रवर्द्धन रहेको उनले बताए । छठमा पूजाका सामग्री तथा प्रसादका रूपमा कृषि उपजको प्रयोग हुने भएकाले यसले कृषि उत्पादनको महत्व बढाउने उनको भनाई छ । त्यस्तै, छठ पर्वले सामाजिक समानताको सन्देश दिने उनले बताए । उनले जात, समुदाय र आर्थिक अवस्थाका आधारमा भेदभाव नगरी सबै मानिस एउटै पोखरीमा समान रूपमा उभिएर पूजा गर्ने परम्परा यस पर्वको विशेषता रहेको उल्लेख गरे। छठ पर्वको अर्को महत्वपूर्ण पाटो अनुशासन सिकाउनु रहेको उनको भनाई छ ।

पाँच दिनसम्म व्रतालुहरूले निश्चित विधि र अनुशासन पालना गर्दै छठ पर्व मनाउने परम्परा रहेको उनले बताए ।

छठ पर्वले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत नजिक ल्याउने उनले बताए । देश तथा विदेशमा रहेका मानिसहरू छठ मनाउन आफ्नो घर फर्किने भएकाले यसले पारिवारिक एकता र आत्मीयता बढाउने उनको भनाई छ ।

पहिले मुख्यतः मधेस क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौँ, पोखरा, बुटवल र धरानलगायतका सहरमा समेत विस्तार भएको उनले बताए ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम