ब्रेकिङ न्युज

मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीयस्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई पार्टीको केन्द्रीय योजनामा समेट्नुपर्ने बताए ।

‘हाम्रो योजना र कार्यक्रम यस क्षेत्रका वास्तविक आवश्यकता, समस्या र जनताको अपेक्षासँग जोडिनुपर्छ,’ पौडेलले भने, ‘यस भूमिलाई नजिकबाट बुझ्ने स्थानीय साथीहरूले उठाएका मुद्दालाई समेटेर मधेसका समस्या र आवश्यकतालाई नेपाली काँग्रेसको केन्द्रिय एजेण्डा बनाउनुपर्छ ।’

पार्टीका कार्यक्रम र योजना जनताको वास्तविक आवश्यकतासँग जोडिनुपर्ने उल्लेख गर्दै उनले मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । यसैबीच, महामन्त्री पौडेलले पार्टी सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न सक्ने भन्दै विधिको शासन र कानुनी प्रक्रियामाथि प्रश्न उठाए । सरकारले कानुन र विधिको शासन पालना नगरेको अवस्थामा आफूहरू पक्राउ पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने उनको भनाइ थियो ।

सभापति थापाबारे एक बिचौलियाले दिएको भनिएको बयानमाथि पनि प्रश्न उठाउँदै पौडेलले सम्बन्धित व्यक्तिले प्रहरीसमक्ष त्यस्तो बयान दिएको भए प्रहरीले सार्वजनिक गरिसक्ने र सरकारले अदालतमा मुद्दा लैजान यति ढिलाइ नगर्ने तर्क गरे ।

उनले भने, ‘जहाँसम्म पार्टी सभापतिको पक्राउको विषय छ, हामी विधिको शासन र कानूनी प्रक्रियाको सम्मान गर्छौँ । तर कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन । कुनैपनि आरोपको निष्पक्ष छानबिन र कानूनी प्रक्रियाबाट निरूपण हुनुपर्छ ।’

दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतन्त्रको मर्मविपरीत हुने पौडेलले बताए । बहुमतका नाममा सरकारविरुद्ध बोल्नेहरूलाई डर र त्रास सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप थियो ।

‘दुई तिहाइको बहुमत पाउँदैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतन्त्रको मर्मविपरित छ । सरकारका गलत काम, अन्याय र विधिको उल्लंघनविरुद्ध बोल्नु प्रतिपक्षको जिम्मेवारी हो,’ उनले भने ।

कांग्रेस यस्ता गतिविधिबाट नडराउने उल्लेख गर्दै उनले पक्राउ र दबाबका बाबजुद सरकारका गलत काम तथा विधि उल्लंघनविरुद्ध आवाज उठाउन नछाड्ने बताए । ‘पक्राउ र दबाबले नेपाली कााँग्रेसको आवाज रोकिँदैन । हामी कानुनी शासन, लोकतान्त्रिक मूल्य र जनताको अधिकारका पक्षमा निरन्तर बोलिरहनेछौँ,’ पौडेलले भने ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम