ब्रेकिङ न्युज

सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटको सुनुवाइ फेरि अन्योलमा

काठमाडौं । सरकारले सोमबार (कार्तिक ३०) गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । २९ गते आइतबार छठ पर्व हो । छठ पर्वका दिन सार्वजनिक बिदा दिने चलन थियो । तर यसपल्ट सरकारले छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिएको हो ।

सरकारले ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि सर्वोच्च अदालतमा यसअघि नै तोकिएका मुद्दाका पेसी प्रभावित हुने भएका छन् ।

यसबाट नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइसमेत अन्योलमा परेको छ । उनको रिटमा कार्तिक ३० गते सोमबारका लागि पेसी तोकिएको थियो ।

सरकारले पदावधि बाँकी रहँदै उनलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारी स्वीकार नगरेका कार्की न्यायको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

तिहार बिदाका कारण सुनुवाइ प्रभावित भएपछि ढिलाइ गरी तोकिएको उनको पेसीसमेत पुनः प्रभावित हुने अवस्था आएको हो ।

नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको दिन सर्वोच्च अदालत बन्द रहने र नियमित इजलास सञ्चालन नहुने व्यवस्था छ । त्यसैले सार्वजनिक बिदाका दिनका लागि यसअघि नै तोकिएका पेसीको सुनुवाइ सामान्यतः हुन सक्दैन ।

सार्वजनिक बिदाका कारण पेसीमा सुनुवाइ हुन नसक्दैमा मुद्दा खारेज हुने वा पक्षले तारिख गुजारेको मानिने भने होइन । तर, स्थगित भएका सबै मुद्दाको पेसी स्वतः भोलिपल्ट सर्ने व्यवस्था नभएकाले सम्बन्धित मुद्दाको नयाँ पेसी मिति अदालतको प्रक्रियाअनुसार निर्धारण हुनेछ ।

यससँगै कार्कीको रिटको सुनुवाइका लागि पनि सर्वोच्च अदालतले नयाँ पेसी मिति तोक्नुपर्ने देखिएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम