ब्रेकिङ न्युज

सांसदको विदेश भ्रमणबारे आशिका तामाङको प्रश्न: राज्यको खर्चमा घुम्न मात्रै जाने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमण र त्यसमा हुने राज्यको खर्चबारे प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले एउटा सांसदले राज्यको ढुकुटीबाट कति पटक विदेश भ्रमण गर्न पाउने र त्यस्ता भ्रमणको उद्देश्य तथा उपलब्धिबारे जनतालाई जानकारी गराउनुपर्ने बताएकी छन् ।

उनले सांसदहरू विभिन्न समितिमा आबद्ध भएर आफ्नै समितिबाट विदेश भ्रमणमा जाने गरे पनि त्यसबारे समितिभित्रकै अन्य सदस्यलाई समेत जानकारी नहुने गरेको उल्लेख गरेकी छन् ।

‘जनताले थाहा पाउने त पर को कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरु के लागी बिदेश जानू भो भनेर! सांसदहरू विभिन्न समितिभित्र हुनुहुन्छ, आफ्नो आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनु हुन्छ,’ उनले लेखेकी छन् ।

राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने विदेश भ्रमणबाट जनता र सांसदले के उपलब्धि पाउँछन् भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

उनले भ्रमणको उद्देश्य र उपलब्धिबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिँदै भनिन्, ‘विदेश भ्रमण केका लागि गइन्छ ? राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमण बाट जनता र सांसदले पाउने उपलब्धि के हो? सोको स्पष्टता जनता सामु आउनु पर्छ ।’

विदेश भ्रमणका नाममा समुद्रको तटमा गएर तस्बिर खिच्ने र टिकटक बनाउने काम मात्रै हुने गरेको हो कि भन्ने प्रश्नसमेत उनले उठाएकी छन् । सांसदहरूको सामाजिक सञ्जालमा सार्वजनिक हुने गतिविधिले त्यस्तो आशंका जन्माएको उनको टिप्पणी छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम