ताजा खबर

बीपी कोइरालाको सालिक तोडफोड, डा. शशांक कोइरालाद्वारा घोर भर्त्सना

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नवलपुरस्थित नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पार्टी कार्यालय परिसरमा रहेको नेपाली कांग्रेसका संस्थापक एवं जननायक बीपी कोइरालाको सालिक अज्ञात समूहद्वारा तोडफोड गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको घोर निन्दा तथा भर्त्सना गरेका छन्।

डा. कोइरालाले उक्त घटनालाई एउटा सालिकमाथिको तोडफोडमा मात्र सीमित नरही नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहास, आदर्श, मूल्य र मान्यतामाथिको प्रहारका रूपमा व्याख्या गरेका छन्।

उनले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई कमजोर बनाउने कुनै पनि गतिविधि लोकतान्त्रिक संस्कार र सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।

यस घटनाले देशमा लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावको अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।

डा. कोइरालाले घटनाको निष्पक्ष तथा गहिरो छानबिन गरी दोषीलाई तत्काल पहिचान गरेर कानुनी दायरामा ल्याउन नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेका छन्।

उनले लोकतान्त्रिक आन्दोलनका आदर्श र इतिहासमाथि हुने कुनै पनि प्रकारका आक्रमण स्वीकार्य नहुने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता